
सिन्धुली, ४ चैत — नेपालमा चलेको १० वर्षको सशस्त्र संघर्षमा धेरै आमाहरूको काख रित्तिए, बालबालिका टुहुरा भए अनि १३ हजार नेपालीले ज्यान गुमाए । कोहीले तत्कालीन नेकपा माओवादीमा आबद्ध भएर ज्यान गुमाए, कोहीले राज्यका रक्षक सेना, प्रहरी भएर ज्यान गुमाए । 
तर कमलामाई नगरपालिका वडा नं. ३ का विष्णुबहादुर सुनुवार भने आफ्नो परिवार पाल्न संघर्ष गर्दागर्दै दुवै पक्षको आँखाको तारो बने अनि मारिए । उनलाई तत्कालीन नेकपा माओवादीले अपहरण ग–यो, त्यसैको तीन दिनपछि तत्कालीन शाही नेपाली सेनाले हत्या ग–यो ।
परिवारको छाक टार्न खेतीकिसानी र काठको व्यापार गर्ने विष्णुको २०५८ वैशाख १० गते तत्कालीन शाही नेपाली सेनाले नेकपा माओवादीको कार्यकर्ता भन्दै कमलामाई नगरपालिका–४ चिसापानी भन्ने स्थानमा गोली हानी हत्या गरेको थियो ।
गाउँले धनलाल स्याङ्तानसँग लिएको सापटी तिर्न काठ बिक्री गरेको पैसा उठाउन सिन्धुलीमाढी आएका विष्णुलाई बजारबाट २० हजार लुटेर भागेको भन्दै सिभिल ड्रेसमा रहेका चारजना सेनाले बजारबाट पछ्याउँदै चिसापानी झोरा पुगेर गोली हानी हत्या गरेको उनकी आमा ७३ वर्षीया गंगादेवी सुनुवारले बताइन् ।
प्रत्यक्षदर्शी कृष्णबहादुर पाख्रिनका अनुसार सिभिल ड्रेसका चारजना सैनिक र विष्णुबहादुर सुनुवारबीच करीब २० मिनेट जति खेतमा कुस्ती परेपछि सेनाले पेस्तोल हानी हत्या गरेको थियो ।
विष्णुबहादुरलाई माओवादीले काठको काम गरेको भन्दै दुःख दिने र राज्यपक्षबाट पनि माओवादी भएको भन्दै दुःख दिने गरेको थियो । माओवादीले पनि बजार गएर सेनालाई सुराकी गरेको भनेर दुःख दिने, सेनाले पनि प्रत्येक दिन सदरमुकाममा नै भेटिनुपर्ने अल्टिमेटम दिएर मानसिक यातना दिएको साथी गोपीबहादुर बम्जनले बताउनुभयो । 
गोपीबहादुरका अनुसार विष्णुबहादुर ब्ल्याक बेल्ट प्राप्त खेलाडी थिए । कुशल खेलाडी भएका कारण पनि माओवादीले आफ्नो कार्यकर्ता बनाउन ताकेता गरे अनि सेनाले पनि खेलाडी भएकै कारण बढी शंका गरे ।
विष्णुबहादुर आफ्नो परिवार पाल्न संघर्ष गरिरहेका हुन्थे । उनको घर सदरमुकामभन्दा टाढा भएको र घरपरिवार हेर्न सदरमुकामबाट घर गइरहनुपर्ने बाध्यताका कारण हत्या गरिएको तत्कालीन नेकपा एमालेका नेता तथा कमलामाई नगरपालिका वडा नं. ४ का निर्वतमान अध्यक्ष सविता कोइरालाले बताइन् ।
कोइराला भन्छिन्, ‘सेनाले सदरमुकामभन्दा बाहिर नजान उर्दी गरेपछि सदरमुकामको धुराबजारमा नै डेरा लिएका थिए । थोरै समय घरको काम गर्थे र सदरमुकाम नै आउने गरेका थिए । सामान्यतया नजरबन्दकै जीवन बाँचेका थिए ।’
विष्णुको हत्यापछि उनैको शोकले ६ वर्षसम्म थलिएर २०६४ मा बुवा बलबहादुर सुनुवारको पनि मृत्यु भयो ।
बलबहादुर र गंगादेवीको १० भाइ छोरामध्ये दुई भाइ बेपत्ता भएको करीब ३० वर्ष भइसक्यो, एक भाइको कालगतिले पहिला नै मृत्यु भइसकेको थियो भने एक भाइको गाडी दुर्घटनामा मृत्यु भयो । अन्य पाँच भाइ आ—आफ्नो परिवार पालेर बसेका छन् ।
‘आमा बुवालाई हेर्ने त्यही विष्णु थियो । त्यसलाई मारिहाले । त्यसैको सुर्ताले बुवाको पनि मृत्यु भयो । अहिले घरमा एक्लै छु, छोरोले बनाइदिएको यही घर चिनो रुँगेर बसिरहेको छु,’ आमा गंगादेवी गहभरि आँसु बनाउँदै भन्छिन् ।
शान्ति प्रक्रिया आएपछि सरकारले राहतस्वरूप १० लाख दिने सुनेकी गंगादेवीले पटक–पटक गरेर पाँच लाख त पाइन् तर अरू कहिले आउने हो उनलाई थाहा छैन । ‘बुढेसकालको सहारा छैन । पैसा मात्र भएर नहुँदो रहेछ,’ आमा गुनासो गर्छिन् ।
आफ्नो छोरोलाई दुवै पक्षले दुःख दिएर हत्या गरेपछि पनि अन्तिमपटक मुख हेर्न नपाउँदा साह्रै चित्त दुखेको आमा गंगादेवी बताउँछिन् । 
मार्छु वा मर्छु भने हिँडेकाहरूका परिवारलाई त आफ्नो परिवारका सदस्य गुमाउनुपर्दा असह्य पीडा हुन्छ भने आफ्नो हेरचाह गर्ने र बुढेसकालको सहाराको हत्या हुँदा कति पीडा हुँदो हो ? तैपनि गंगामाया देशमा चलेको सशस्त्र द्वन्द्वमा धेरै नेपालीले दुःख पाएका थिए भनेर चित्त बुझाउँछिन् अब त्यस्तो दिन नआओस् भनेर कामना गर्छिन् ।
गंगामाया भन्छिन्, ‘बजारमा आफ्नो पैसा उठाएर घर फर्किने क्रममा पैसा लुटेको र हतियार बोकेको झुटो आरोपमा सेनाद्वारा हत्या गरियो, मेरो मनमा पीडा छ तर त्यो द्वन्दको बेला थियो । उजुरबाजुर गरेर हुँदैन, अब सबै मिल्नुपर्छ ।’
यो फिचर स्टोरी अस्ट्रृेलियन दूतावासको डाइरेक्ट एड प्रोग्राम र सेन्टर फर मिडिया फ्रिडमको सहकार्यमा सञ्चालित ‘द्वन्द्वोत्तर मेलमिलाप प्रवर्द्धनका लागि पत्रकारको क्षमता अभिवृद्धि परियोजना’ अन्तर्गत तयार पारिएको हो ।