
काठमाडौँ–सरकारले सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरी ती कार्यालयअन्तर्गतका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति तथा अभिलेख सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही चैत २१ र २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासन कार्यालय धनकुटा, हेटाैंडा, पोखरा, सुर्खेत र दीपायल खारेज गरिएको बताए ।
मन्त्रिपरिषद्ले प्रदेश सरकारले घोषणा गरेका सार्वजनिक बिदामा सङ्घीय सरकारअन्तर्गतका कार्यालयमा समेत बिदा दिने निर्णय गरेको उनले जानकारी दिए । काठमाडौँ उपत्यकाका हकमा भने गृह मन्त्रालयले निर्णय गरेअनुसार हुनेछ ।
मन्त्रिपरिषद्ले निषेधित क्षेत्रसम्बन्धी संशोधन सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको बताउँदै सञ्चारमन्त्री बाँस्कोटाले स्वास्थ्यचौकीमा रहने कूल सात हजार ६१९ अनमी पदको दरबन्दीका सम्बन्धमा संशोधन गर्ने निर्णय गरेको जानकारी दिए ।
यसैबीच सरकारी चिकित्सकको आन्दोलनका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटले चिकित्सकले एकै चोटि हडतालमा जाने कुरा राम्रो नभएको र मान्य हुन नसक्ने बताए ।
ठूलो सङ्ख्याका कर्मचारी समायोजनमा देखिने केही प्राविधिक वा व्यावहारिक समस्या समाधान हुने र त्यो सरकारको दायित्व भएको उनले बताए ।
राउत- सिंह जम्काभेट
सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएका सीके राउत र भारतीय राजदूत मन्जिभ सिंहबीच जनकपुर एयरपोर्टमा भेटवार्ता भएको छ ।
सो क्रममा प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पनि सहभागि थिए ।
बिहीबार मध्यान्ह काठमाडौं प्रस्थानका लागि भारतीय राजदूत विमानको प्रतिक्षामा थिए । त्यही बेला काठमाडौंबाट जनकपुर फर्किएका सीके राउत र प्रदेश प्रमुख कायस्थसँग पुरीको जम्काभेट भएको बताइएको छ ।
जम्काभेट भएपनि तीनै जना व्यक्ति विमानस्थलका विशिष्ट कक्षमा बसेर केहीबेर भलाकुसारी भएको थियो ।
सो क्रममा सीके राउतको जनमत पार्टी गठन भएपछिको राजनीतिक माहोल, प्रदेश २ को समयसामयिक अवस्था र नेपाल भारतबीचको सम्बन्धका विषयमा सामान्य छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीसहित शीर्ष नेताहरु चन्द्रागिरीमा
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुबीच गएराती मध्यरातसम्म राजधानीको चन्द्रागिरीमा गोप्य छलफल भएको छ ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसहित अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव विष्णु पौडेल लगायतका नेताहरु चन्द्रागिरीमा पुगेर गोप्य छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार पार्टी एकता लगायतका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेका हुन् ।
बैठकमा पार्टीभित्र देखिएको विवादलाई कसरी मिलाएर एकता सम्पन्न गर्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।
सरकारबाट बाहिरिने निर्णय भएको छैन
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् ।
खोटाङको दिक्तेलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आएमा मात्र आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।
राजनीतिक कारण, मधेशी, आदिवासी, जनजाति, महिला, दलित र पिछिडिएका वर्गका मुद्दा अहिले पनि सम्बोधन हुन बाँकी रहेको उपप्रधानमन्त्री यादवले बताए ।
नेपालमै विद्युतीय सवारी साधनको कारखाना खोल्न आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५३ औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस–२०७५ समारोहलाई सम्बोधन गर्दै उनले नयाँ तरिकाले नयाँ नयाँ सोचसहित उद्योग व्यवसायका क्षेत्रमा उद्योगी व्यवसायी लाग्नुपर्नेमा जोड दिए ।
कृषि, पर्यटन, ऊर्जा र भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो लगानीको जरुरत छ भन्दै प्रधानमन्त्रीले स्वदेशी तथा विदेशी लगानीले मात्रै समृद्धिको सपना पूरा हुने उल्लेख गरे ।
वैशाखदेखि बक्स अफिस देशभरका चलचित्र मन्दिरमा
चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ । देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक्ने बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईले बताए ।
राप्रपाद्वारा देशभर धर्ना
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत माग गर्दै देशभर बिहीबार धर्ना दिएको छ ।
सो क्रममा पार्टी अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र उपाध्यक्ष टङ्क ढकालले सूर्यविनायक नगरपालिका, उपाध्यक्ष प्रेमबहादुर भण्डारीले कोहलपुर नगरपालिका, उपाध्यक्ष भीमप्रसाद गौचनले बेनी नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका, महामन्त्री डा धवलशम्शेर राणाले नेपालगञ्ज उपमहानगरपालिका र महामन्त्री भास्कर भद्राले महालक्ष्मी नगरपालिकामा धर्नाको नेतृत्व गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
राजपाको महाधिवेशन सर्ने
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । महाधिवेशनको तयारी पूरा नभएको भन्दै राजपाले आगामी वैशाख ७–९ मा पूर्वघोषित महाधिवेशनको मिति सार्ने भएको हो । राजधानीमा तीन दिनसम्म चलेको राजपा अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तयारी नपुगेको भन्दै अर्को मिति तय गर्न वैशाख ८ गते पदाधिकारी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
‘इञ्जिनीयरिङसँग समन्वय गरेर उडान अनुमति’
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाईस्पष्टीकरण बुझाएका छन् ।
अन्तरराष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएका सम्बन्धमा पर्यटन मन्त्रालयले बुधबार महाप्रबन्धक क्षेत्रीलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो । पत्रको जवाफमा महाप्रबन्धक क्षेत्रीले विमानस्थलको धावनमार्गको काम शुरु नभएका कारण इञ्जिनीयरसँग समन्वय गरेर जहाजलाई उडान अनुमति दिएको जिकिर गरेका छन्।
“लिखित स्पष्टीकरण सोधिएकामा मैले जवाफ पठाएको छु । अघिल्लो नेपाल वायुसेवाको निगमको जहाजका यात्रु अलपत्र परेको जस्तै घटना नदोहोरियोस् भनेर यात्रुको मानवीय संवेदनालाई ख्याल गरिकन उड्न अनुमति दिएको हुँ । टावर र सम्बन्धित एयरलाइन्सलाई सोध्दा उड्न पाँच मिनेट समय लाग्छ भनेको थियो तर जहाजले ट्याक्सी वेमा केहीबेर (१० मिनेट) ढिलो गरेकाले समस्या आएको हो, पवित्र उद्देश्यले काम गर्दा उल्टै फसियो,” महाप्रबन्धक क्षेत्रीले भने ।
विमानस्थलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र फ्लाई दुबईको जहाजलाई भिन्नभिन्न व्यवहार गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक क्षेत्रीलाई स्पष्टीकरण सोधेको हो ।
तोकिएको ठाउँमा नगए कर्मचारीलाई कारवाही
पदस्थापन भएका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न निर्देशन दिँंदै गृह मन्त्रालयले काम गर्न नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय भई समायोजनापछि मन्त्रालयअन्तर्गत पदस्थापन भएका कर्मचारीलाई कामकाजमा खटाइसकेको भए पनि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको भन्दै मन्त्रालयले सूचना जारी गरी आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई गम्भीरतापूर्वक मनन गर्न सचेत गराएको छ ।
दुर्घटनामा पोखरेली सङ्गीतकर्मी थुलुङको निधन
दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा परी निधन भएको भएको छ ।
बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उनी सवार ग१२प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा पूर्वसांसदको मृत्यु
गुल्मीको मुसिकोट नगरपालिकामा बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र एक बालकको मृत्यु भएकोछ भने अन्य आठ घाइते भएका छन् ।
धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
त्यसैगरी मालिका गाउँपालिका–१ का आठ वर्षीय वस्कर विश्वकर्माको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए ।
मालिका गाउँपालिकाअन्तर्गत दर्लिङबाट बिहीबार बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु१ज १९५७ नंको उक्त जिप बिहान ९ बजे मुसिकोट नगरपालिका–१ अन्तर्गत चैनडाँडा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये चारको वामीटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने अन्य चार जनालाई गुल्मी अस्पताल तम्घास ल्याइँदै गरिएको छ ।
पहिलो स्वर्ण पुलिसलाई
आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा जारी टेबलटेनिस प्रतियोगितामा महिला समुहगत प्रतिस्पर्धामा पुलिस क्लबले स्वर्ण जितेको हो ।
उक्त प्रतिस्पर्धामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ ले हराएको हो । सो स्पर्धामा पुलिस क्लबकी एलिना महर्जनले एपिएफ क्लबकी सेलिषा खड्गीलाई ३–२ र पुलिसकै नविता श्रेष्ठले एपिएफकी अनिता महर्जनलाई ३–० ले हराइन् । यस्तै एपिएफ क्लबकी सिक्क सुवालले पुलिसकी मञ्जु सुवाललाई ३–१ ले पराजित गरिन् । अन्तिममा पुलिस क्लबकी नविता श्रेष्ठले एपिएफकी सेलिषा खड्गीलाई ३–१ ले हराउँदै आफ्नो टोलीलाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।