
काठमाडौं– महालेखा परीक्षकको कार्यालयले यस वर्ष ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँको लेखापरीक्षण गरेको छ ।
शुक्रवार लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले उक्त रकम बराबरको लेखा परीक्षण गरिएको जानकारी गराएको हो ।
कुल ६ हजार ६ सय ४४ निकायको लेखा परीक्षण गरिएको र निकायमा गरी १ खर्ब ४१ अर्ब ५ करोड रुपैयाँ बेरुजु निस्केको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए ।
त्यसमा संघीय सरकार मातहतका कार्यालयमा १ खर्ब ६ अर्ब ३४ करोड रुपैयाँ बेरुजु निस्केको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रदेश सरकारी कार्यालयमा १९ करोड रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै स्थानीय तहमा २४ अर्ब १४ करोड रुपैयाँ बेरुजु पाइएको छ ।
महालेखा परीक्षकको कार्यायले गत साउन १५ गते देखि मुलुकभरी स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार अन्तरगतका विभिन्न निकायमा लेखा परीक्षण गरिएको जानकारी गराएको छ ।
तीनै निकाय अन्तरगतका समिति, संस्था र संगठित संस्थाको समेत लेखा परीक्षण गरिएको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ ।
विभिन्न समितिहरूको १० अर्ब ३८ करोड रुपैयाँ बेरुजुसहित कुल १ खर्ब ४१ अर्ब ५ करोड रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ ।