०३ साउन २०८३, आइतबार

लिबियाबाट नेपाली शान्ति सैनिक नहट्ने, व्यापार घाटा बढ्यो

लिबियाबाट नेपाली शान्ति सैनिक नहट्ने, व्यापार घाटा बढ्यो

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरिएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले महालेखापरीक्षकको ५६औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७४/७५ को उक्त प्रतिवेदन पेश गरिएको हो । 

विद्युत् प्राधिकरणको नाफा रु तीन अर्ब 

नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४÷७५ मा  करीब रु तीन अर्ब  खुद नाफा गर्न सफल भएको छ ।  विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण प्राधिकरणको नाफा बढेको हो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो । 

महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनानुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष रु २३ अर्ब ५९ करोड ७९ लाख ऋणात्मक छ । आव २०७२÷७३ मा जगेडा तथा सञ्चित कोष रु २६ अर्ब ३३ करोड ४८ लाख ऋणात्मक थियो । 

गत वर्षको तुलनामा विद्युत् बिक्रीमा खुद नाफा र चालू सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कूल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको पाइएको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ । 

प्रतिव्यक्ति ऋण रु सात हजारले वृद्धि

नेपालीको प्रतिव्यक्ति ऋण गत वर्षभन्दा रु सात हजार ४३ ले बढ्न गएको छ । सार्वजनिक महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदनानुसार कूल जनसङ्ख्या  दुई करोड ८८ लाख २९ हजारलाई आधार मान्दा यस वर्ष प्रतिव्यक्ति ऋण दायित्व रु ३१ हजार ७५० छ । 

त्यस आधारमा प्रक्तिव्यक्ति ऋण दायित्व गत वर्षभन्दा रु सात हजारले बढेको हो । सरकारको कूल ऋण दायित्व रु नौ खर्ब १५ अर्ब ३१ करोड  छ । 

अद्यावधिक बेरुजु रु पौने चार खर्ब 

महालेखापरीक्षकको प्रतिवेदनानुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह जिल्ला समन्वय समिति, अन्य समिति र संस्थाको अद्यावधिक बेरुजु रु सात खर्ब ७७ अर्ब ४८ करोड छ । गत वर्षभन्दा बेरुजु २९.९३ प्रतिशतले बढेको छ । 

गत वर्ष यस्तो रकम रु पाँच खर्ब आठ करोड रहेको थियो । गत वर्षको तुलनामा कारवाही गरी टुङ्गो लगाउनुपर्ने रकम ३६.७१ प्रतिशतले बढेको छ । स्थानीय तहले रु एक अर्ब ६७ करोड ५० लाख नौ हजारको लेखापरीक्षण नै गराएका छैनन् । धनुषा, सर्लाही, बझाङ र  महोत्तरीका छ स्थानीय तहले लेखापरीक्षण नगराएका हुन् । 

महालेखापरीक्षक टङ्कमणि शर्माका अनुसार सङ्घीय कार्यालयको रु ४६ अर्ब ४८ करोड आठ लाखमध्ये खानेपानी, शहरी विकास र  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको परीक्षण भएको बेरुजु रु १५ अर्ब ९२ करोड ८७ लाख  छ । 

व्यापार घाटा वृद्धि

प्रतिवेदनानुसार आव २०७४÷७५ मा रु ११ खर्ब ६३ अर्ब ८६ करोड बराबरको व्यापार घाटा भएको छ । आव २०७२÷७३ मा रु सात खर्ब १० अर्ब एक करोड घाटा थियो । गत दुई आर्थिक वर्षको व्यापार घाटा वृद्धि प्रतिशत ६३.९२  छ । उच्च आयात र न्यून निर्यातका कारण व्यापार घाटा बढ्दै जाँदा भुक्तानी सन्तुलनमा समेत प्रभाव परेको छ । 

उच्च अदालतका न्यायाधीश नियुक्ति सदर

सर्वोच्च अदालतले उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको ८० न्यायाधीशको नियुक्ति सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उच्च अदालतमा दुई वर्ष अगाडि भएको नियुक्ति कानूनसम्मत भएको उल्लेख गर्दै नियुक्ति सदर गरेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । 

लिबियाबाट शान्ति सैनिक नहट्ने

नेपाली सेनाले अफ्रिकी राष्ट्र लिबियामा तैनाथ नेपाली शान्ति सैनिक त्यहाँबाट हट्न लागेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “ मिशन हेड क्वार्टर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनी सम्प्रेषित आधारहीन समाचारबाट दिग्भ्रमित नहुन नेपाली सेना अनुरोध गर्दछ ।”

त्यहाँ तैनाथ मिशन हेड क्वार्टरको सुरक्षाको जिम्मेवारी नेपाली शान्ति सैनिकले गरिरहेको  जानकारी दिँदै सेनाले अन्तरराष्ट्रिय समुदायमा नेपाली शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको जनाएको छ ।

वाइड बडी जहाज खरीद प्रकरण : छ महिनामै डेढ अर्ब घाटा 

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले खरीद गरेको वाइड बडी जहाजको लक्ष्यअनुसार उडान भर्न नसक्दा रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ । महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदनअनुसार गन्तव्य टुङ्गो लगाएर प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा २०७५ साउनदेखि पुससम्म दुई वाइड बडी जहाजबाट रु एक अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी भएको छ ।

निगमको जहाज रोकिनु एटिसी र निगम दुवैको गल्ती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही चैत १९ गते राति युनाइटेड अरब इमिरेट्सको दुबई उड्न लागेको नेपाल वायु सेवा निगमको जहाज विमानस्थलमा रोकिएको घटनामा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) र निगम दुवैको गल्ती भएको पाइएको छ ।

उक्त घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिलेसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनअनुसार एटिसीको अपरिपक्वता र निगम कर्मचारीको फितलो सञ्चारले चार मिनेट मात्र ढिला हुँदा पनि २७१ यात्रुले सास्ती पाएको उल्लेख छ । निगमको जहाज रोकिएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

घटना भएको रात ड्रागन एयर र निगमका दुई वाइडबडी जहाज उडान भर्ने क्रममा थिए । ड्रागन एयरको जहाज रनवेमा गइसकेकाले निगमको जहाज ट्याक्सी वेमै रहेको थियो । दुईवटा वाइडबडी एकै पटक रनवेमा लिन मिल्दैन । ड्रागनका कारण बोर्डिङ गरिसकेको निगमको जहाजलाई रनवेमा जान केही मिनेट ढिला हुँदा एटिसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । 

निगमको काठमाडौँबाट दुबईतर्फ जाने उडान नं एनए–२३१ को यही चैत १९ साँझ ९ः१५ मा तय भएको नियमित उडान निर्धारित समयमा उड्न नसकी रद्द भएकाले सो उडानमा भएको कमीकमजोरीको अध्ययन गरी प्रतिवेदन पेश गर्न (पर्यटन राज्यमन्त्रीस्तरीय मिति २०७५÷१२÷२० को) निर्णयबाट छानबिन समिति बनाइएको थियो । उक्त घटनासँग सम्बन्धित विभिन्न निकायका ६ कर्मचारीलाई विभागीय कारवाहीका लागि समितिले किटानीसहित कारवाही सिफारिश गरेको छ । 

राष्ट्रपतिबाट वैशाख १ गते मानपदवी दिइने

सरकारले मुलुकका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ३४३ जनालाई मानपदवी प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार विभिन्न क्षेत्रबाट विभूषित हुन लागेका ५१७ मध्ये ३४३ जनालाई मानपदवी प्रदान गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । विसं २०७६ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरूलाई मानपदवी प्रदान गरिने मन्त्रालयले जनाएको छ । 

यस्तै विभिन्न मुलुकबाट १४४ राष्ट्रसेवक तथा नेपाली नागरिकलाई विभिन्न प्रकृतिका विभूषण ग्रहणका लागि स्वीकृति दिनसमेत विभूषण समितिले मन्त्रिपरिषद्मा सिफारिश गरेको जनाइएको छ ।  राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकामध्ये एक जनालाई नेपाल रत्न, चार जनालाई महाउज्ज्वल राष्ट्रदीप, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, दुई जनालाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप र तीन जनालाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित गरिने जनाइएको छ ।  यस्तै ९६ जनालाई सुप्रबल जनसेवाश्री, एक जनालाई कीर्तिमय राष्ट्रदीप, १६१ जनालाई प्रबल जनसेवाश्री, ७४ जनालाई जनसेवाश्री, ८७ जनालाई अलङ्कार र ८७ जनालाई पदक प्रदान गरिने मन्त्रालयले जनाएको छ । 

नेपालद्वारा सिङ्गापुर पराजित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । नेपालले सिङ्गापुरलाई २१७ रनको फराकिलो अन्तरले हराएको हो । 

मलेसियाको क्वालालम्पुरमा नेपालले सिङ्गापुरलाई २८३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको सिङ्गापुरले ३१ ओभरमा सवै विकेट गुमाउँदै ६५ रन बनायो । सिङ्गापुरका इशान स्वानीले सर्वाधिक २८ र साइ भेनु गोपालले १८ रन बनाए । बलिङतर्फ नेपालका पवन सर्राफले तीन, कुशल मल्ल र सूर्य तामाङले दुई÷दुई तथा राशिद खानले एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सवै विकेट गुमाई २८२ रन बनाएको थियो । नेपालले १८ रन जोड्दा दुई विकेट गुमाएको थियो । कप्तान रोहितकुमार पौडेल र पवन सर्राफले ९० रनको साझेदारी गरी नेपाललाई सम्मानजनक स्कोरसम्म पु¥याएका थिए । रोहितले ९५ रन तथा पवनले ४७ रन बनाए । राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । बलिङतर्फ सिङ्गापुरका लागि आथर्भा गुनेले चार, राहुल शर्मा र बिनित मेहेताले दुई÷दुई विकेट लिए । 

salt training

कमेन्ट गर्नुहोस्