२२ जेठ २०८३, शुक्रबार

विप्लव निकट शिक्षक संगठनका अध्यक्ष पक्राउ

विप्लव निकट शिक्षक संगठनका अध्यक्ष पक्राउ

पाल्पा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट मानिएको शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरलाई शुक्रवार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्तीर्ण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।

उनीमाथि अनुसन्धान भइरहेको र आइतवार मात्र मुद्दा दर्ता हुने प्रहरी उपरीक्षक पोखरेलले बताए । पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मुद्दा दर्ताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुढामगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका छन् 

नगर सेक्रेटरी पक्राउ 

प्रहरीले विप्लव समूहका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई पक्राउ गरेको छ । भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

‘पक्राउ परेका भट्टको साथबाट संगठनको योजना र संगठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताबसमेत बरामद गरेका छौं,’ उनले भने ।

कृष्णपुरकै क्रसर उद्योगमा केही दिनअघि जेसिभी आगजनीमा संलग्नता भए नभएकोबारे भट्टसँग सोधपुछको कार्यसमेत शुरू गरिएको छ । भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्