
काठमाडौँ–नेपाली पात्रोअनुसार, विक्रम संवत् २०७६ साल प्रारम्भ भएका अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी आज नयाँ वर्ष (वैशाख १ गते) उत्साह र उमङ्गका साथ मनाइँदैछ ।
नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरुले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
सरकारले नयाँ वर्षको उपलक्ष्यमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । आजको दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।
शुभकामना दिँदै कसलेके भने ?
राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नव वर्ष २०७६ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्यप्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “नेपाल र नेपालीको यो दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगत्को साथ र सहयोग हामीले पाउनेछौँ ।”
हाम्रो ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस भनी शुभकामना व्यक्त गर्दै
उहाँले प्राकृतिक एवं सांस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधीन र स्वाभिमान राष्ट्रका रुपमा विश्व मानचित्रमा अङ्कित छ भन्नुभयो ।
विसं २०७५ सङ्घीय शासन प्रणालीअनुरूपको कानून निर्माण एवं संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको स्मरण गराउदै उहाँले भन्नुभएको छ, “नयाँ वर्षका अवसरमा सबै नेपाली दिदी बहिनी, दाजुभाइमा उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछु ।” सन्देशमा भनिएको छ, “नयाँ वर्ष २०७६ साल मुलुकमा समृद्धि र दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
पुनले भन्नुभएको छ, “देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका साथ स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । विसं २०७५ विकास र समृद्धिका लागि बलियो जग बनाएर बिदा भएको छ । नयाँ वर्ष आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने मैले अपेक्षा लिएको छु ।”
नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपतिले राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै जानुपर्नेमा जोड दिनुभएको छ । नयाँ वर्षले नेपालीकाबीच आपसी समझदारी, सद्भाव तथा सहकार्यको वातावरण बन्नुका साथै समुन्नत र समृद्ध राष्ट्र निर्माण गर्ने साझा एजेण्डामा सबैको ध्यान केन्द्रित गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले पनि समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष २०७६ सालका उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले भन्नुभएको छ, “नयाँ वर्षका हरेक दिन नयाँ बनुन् । उन्नति र प्रगतितर्फ नयाँ पाइला चालिँदै जाऊन् । परनिर्भरता होइन, आत्मनिर्भरताको बाटो फराकिलो हुँदै जाओस् ।” शासकीय सुशासन र विकासका लागि प्राथमिकीकरण गरिएका क्षेत्रमा निर्धारित पूँजीगत खर्च गर्ने क्षमताबाट नै हाम्रो सही गन्तव्य सुनिश्चित हुने बताउँदै पूर्वअध्यक्ष रेग्मीले हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुनसकेमा नै सबैको ऐक्यबद्धता र अपनत्वभाव प्रदर्शित हुने उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले भन्नुभएको छ, “समृद्ध नेपालको नेपाली सपना पूरा गर्न हाम्रा सबै पाइला केन्द्रित होऊन् । नयाँ वर्षले त्यसैमा निष्ठाका साथ लाग्न प्रेरित गरोस् भन्दै सबै नेपालीमा सुख शान्तिको कामना गर्दछु ।”
यसैगरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
नव वर्षको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा सङ्गठित गर्न, गाउँ–नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको बताउनुभएको छ ।
उहाँले नव वर्ष २०७६ ले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबै नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास सभापति देउवाले सन्देशमा व्यक्त गर्नुभएको छ ।
यसै अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समीक्षा गरी मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनैपर्छ ।”
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आजै देशबासीको नाममा सम्बोधन गर्दै शुभकामना र आफ्नो प्रतिवद्धता सुनाउन लागेका छन् ।
नयाँ वर्षको अवसरमै नेकपा अध्यक्ष प्रचण्डसहित अरु दलका विभिन्न नेताहरुले पनि शुभकामना दिएका छन् ।