भक्तपुर, ३ चैत–सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले तोकिएको मितीमा स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।

रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले मधेशी मोर्चासँग निरन्तर संवाद भइरहेकाले छिटै मोर्चा सहमतिमा आउने र स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर आंशका नगर्न आग्रह गरे ।
मन्त्री कार्कीले मोर्चाबीना निर्वाचनमा गए मधेशमा अतिवादले प्रश्रय पाउने भएकाले मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउनुपर्ने बताए ।
उनले स्थानीय तहको निर्वाचनका सवालमा बाहिर अनेक टिकाटिप्पणी आइरहेपनि आशावादी हुन सबैमा आग्रह गर्दै निर्वाचन तोकिएकै मितिमा हुने बताए । मधेशी मोर्चा सरकार निरन्तर सम्वाद र वार्तामा रहेकाले छिटौ मोर्चा वार्तामा आउने विश्वास गरे । संविधानभन्दा ढाढा कोही नभएको र मेधशी मोर्चा पनि संविधानको पक्ष विपक्षमा आएको बताउँदै सबै दलहरु संविधानको परिधिमा खुमीरहेकाले सबै राजनीतिक दलहरु निर्वाचनको पक्षमा रहेको बताए ।
देशका अधिकांश क्षेत्रमा निर्वाचन भएपनि मधेशका केहि ठाउँमा अवरोध भएपनि स्थानीय तहको निर्वाचन नसर्ने र नरोकिने मन्त्री कार्कीले बताए ।
देशका सबै गाउँपािलका, नगरपालिकामा निर्वाचनको वातावरण बनीरहेको र दलका नेता तथा कार्यकर्ता गाउँ केन्द्रित भई निर्वाचनको माहौल सृजना गर्न लागिपरेकाले देश निर्वाचनमय भइसकेको उनले दाबी गरे ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेर स्थानीय तह कार्यान्वयनमा ल्याइसकेपछि सिंहदरबारमा धाउने पार्टीका नेता तथा कार्यकर्ता गाउँकेन्द्रित भएको र सिंहदरबारमा मान्छेको संख्यासमेत घट्दै गएको उनले बताए ।
कञ्चनपुरमा भारतीय एसएसपीको गोली लागेर नेपालीको ज्यान गएको घटनाका विषयमा सरकारले सत्य तत्थ छानवीन गरी भारत सरकारलाई पठाइएको बताउँदै भारत सरकारले आफनो गल्ती स्वीकार गर्दै माफी माग्नुपर्ने अनुरोध गर्दै भारतलाई जानकारी गराइएको बताए ।
सरकाले ज्यान जाने गौतमलाई सहीद घोषणा गरेर उनलाई भारतीय प्रहरीको गोलीले नै मृत्यु भएको पोस्टमार्टम रिपोटबाट आएकाले भारत सरकारलाई गल्ती स्वीकार्न आग्रह गरिएको मन्त्री कार्कीले बताए ।