काठमाडौं, ४ चैत– मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संघीयता विरोधी पार्टी पार्टीका अध्यक्ष कमल थापालाई नै प्रचण्ड सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिएर सरकारले गल्ती गरेको आरोप लगाएका छन् ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने,‘राप्रपाले संघीयता मानेको छैन, तर संघीयता नमान्नेलाई नै संघीय मन्त्रालयको जिम्मेवारी दिईएको छ, यो विडम्बना हो।’
उनले भने,‘सरकारले संघीयता विरोधी कमल थापालाई नै संघीय मामिला मन्त्री बनाएर के गर्न खोेजेको हो ? यो विडम्बना हो, धरातल के हो ?’ कर्णले अहिले संविधान संशोधन पहिले कि चुनाव भन्ने विषयमा विवाद भैरहेको बताए।
उनले स्थानीय तह पूर्नसंरचनाको काम काठमाडौंमा बसेर नक्सा हेरेर गरिएको भन्दै त्यसलाई आफूहरुले नमानेको जिकिर गरे। उनले भने,‘स्थानीय तह निर्धारण गर्दा जनसंख्याकै आधारमा हुनुपर्छ।’
यसैबीच कर्णको कडा अभिव्यक्ति पछि कमल थापाले आफ्नो बचाउ गरेका छन् ।
आफ्नो ट्वीटरमार्फत प्रतिक्रिया दिँदै उनले मोर्चाको माग पूरा गराउनको लागि क्रियासिल रहिरहेको अवस्थामा कर्णबाट पूर्वाग्रही अभिव्यक्ति आएको बताएका छन् ।
उनले कर्णप्रति प्रतिप्रश्न गर्दै भनेका छन्– मोर्चाको माग सम्बोधनगरेर निर्वाचनमा सहभागी हुन वातावरण बनाउनुपर्छ भनि क्रियाशीलरहेको अवस्थामा के यस्ता पूर्वाग्रहीले बिचारले सघाउ पुर्यावउछ ?