
हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङ्गका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् ।
हिल्दुम वितरण केन्द्रले विसं २०७० मा टुलिङ्ग गाउँका ३१ घरधुरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण त्यहाँ स्थानीयले शनिवार साँझबाट मात्र उज्यालो देख्न पाएका छन् ।
टुलिङ्ग गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउनका लागि पहिलो किस्ता ९० हजार रुपैयाँ र दोस्रो किस्ता एक लाख ५७ हजार रुपैयाँ खर्च गरेर त्यहाँका स्थानीयले उज्यालो देख्न पाएका हुन् ।
हिल्दुम वितरण केन्द्रको ढिलासुस्तीका कारण पाँच वर्षपछि उज्यालो देख्न पाएको स्थानीय नन्द शाहीले बताए ।
टुलिङ्ग गाउँका ३१ घरधूरीले पाँच वर्षसम्म उही पुरानो परम्पराअनुसार सल्लाको दियालो बालेर दिन चलाएको उनले जानकारी दिए । ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुशी लागेको त्यहाँका स्थानीयले बताएका छन् ।
गाउँमा पाँच वर्षपछि हिल्दुम वितरण केन्द्रको लाइन पुग्दा बालबालिकालाई रातिको समयमा अध्ययन गर्न सहज हुने भएको वीरबहादुर शाहीले जानकारी दिए ।