
राजविराज – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा शनिवार भएका दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४१२३ नम्बरको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
पसलमा चिया पिउन बसिरहेका सप्तरीको कञ्चनरुप नगरपालिका–८ बस्ने ६५ वर्षीय देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि बसमा सवार र चिया पसलमा बसिरहेका अन्य ८ घाइते भएकोे प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।
घाइतेको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने चालक र ट्रक तथा बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइलले पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ७० वर्षीय छुतहरु दासको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नागरपालिका–३ स्थित पोर्ताहामा पनि मोटरसाइकल दुर्घटनमा परी शनिवार १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को१ज ३५६२ नम्बरको गाडीले सोही दिशातर्फ जाँदै गरेको को१५प ५५४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी हनुमाननगर कंकालिनी नागरपालिका–३ पोर्ताह बस्ने २२ वर्षीय शंकर पघैया यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।