१९ असार २०८३, शुक्रबार
मुख्य समाचार

उपमेयर खड्गीमाथि आक्रामणको प्रयास, यसरी हुँदैछ त्रिभुवन विमानस्थल मर्मत

बैशाख १५, २०७६
उपमेयर खड्गीमाथि आक्रामणको प्रयास, यसरी हुँदैछ त्रिभुवन विमानस्थल मर्मत

काठमाडौं– अवैधरुपमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाइएको काठमाडौँको खुलामञ्चको सटर तथा कबल शनिबार डोजर लगाएर हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएका सटर डोजर लगाएर हटाइएको हो । 

सार्वजनिक स्थानमा फरक प्रयोजनका लागि काम गर्न दिइएको भए पनि निर्माण व्यवसायीले अवैधरुपमा सटर निर्माण गरी प्रतिसटर रु १५ लाखसम्म लिएर व्यापारीलाई बिक्री गरिएको पाइएपछि स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले तत्काल हटाउन आग्रह गर्दै आएका थिए । 

काठमाडौँ महानगरले सार्वजनिक जग्गामा सटर बनाउन दिएको विषयमा चौतर्फी विवाद तथा आरोप प्रत्यारोपसमेत भएको थियो । सार्वजनिक स्थान व्यक्तिले कब्जा गरेको पाइएपछि डोजर लगाइएको हो । सुरक्षाकर्मीसहित काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत उपस्थित भई नयाँ बनाइएका ४३ सटर हटाइएको हो । 

खुलामञ्चमा नयाँ ४३ र पुराना नौ गरी ५२ सटर सञ्चालनमा थिए । महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द विकाइ बिल्डर्स प्रालि’ बीच २०७४ वैशाख ८ मा सहमति भएको थियो । पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण गर्ने गरी महानगर र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकाइ विल्डर्सबीच सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा निर्माण व्यवसायीले पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण प्रक्रिया शुरु गरेपछि बसपार्क खुलामञ्चको उत्तरतर्फ सारिएको थियो । बसपार्क उक्त स्थानमा सारिएपछि निर्माण व्यवसायीले सार्वजनिक स्थानमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाएको पाइएको छ । 

उपमेयर खड्गीमाथि आक्रमणको प्रयास 

यसैबीच काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि आक्रमणको प्रयास भएको छ । खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि पुगेकी खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । 

उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन गर्दै व्यवसायीलाई ढुक्क भएर व्यापार गर्न आग्रह गरेकी थिइन् ।

तर, उक्त ठाउँमा डोजर परिचलन गरेर सटर भत्काइएपछि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । खड्कीलाई जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । 

विमानस्थल मर्मत मर्मत

भित्रुवन विमानस्थलको धावनमार्ग हालसम्म ४०० मिटर मर्मत भइसकेको प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिएका छन् ।  

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एकमात्र धावनमार्ग मर्मत गर्न हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म काम हुन्छ । धावनमार्ग स्तरोन्नतिको काम चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले गरिरहेको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटकपटक समस्या परेपछि क्यानले धावनमार्ग पूर्णरुपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना अघि बढाएको हो ।

विमानस्थल बन्द भएपछि ठेकेदार कम्पनीका सबै उपकरण र जनशक्तिसहित ‘नोटाम’ लाग्नासाथै उपकरण रनवेमा दौडन्छन् । विमानस्थलको धावनमार्गको दक्षिण क्षेत्र (जिरो टु) तर्फबाट निर्माण कम्पनीले काम शुरु गर्छ । तम्तयार अवस्थामा बसेका उपकरणसहितको जनशक्ति विमानस्थलको (जिरो टु) रनवेमा प्रवेश गर्छ । रनवेमा पुगेका उपकरणमध्ये मिलिङ (पुरानो पिच उप्काउने) मेशिनले पिच उप्काउने काम गर्छ । मेशिनले तीन चरणमा १० र १० सेन्टिमर गहिरो पिच उप्काइन्छ । 

मेशिनको अगाडि तयारी अवस्थामा रहको टिपरमा मिलिङ मेशिनले काटेको पिच स्वचालित मेशिनबाट सिधै लोड गरिन्छ । पिच उप्काइएको ठाउँमा सफा गरी पुनः आधुनिक पेभलर मेशिनबाट नयाँ पिच गरिन्छ । रनवेमा राति १० बजेबाट बिहान करीब ५ बजेसम्म काम हुन्छ । रनवेमा थपिएको नयाँ पिच सेट हुन कम्तीमा तीन घण्टाको समय लाग्ने हुँदा ८ बजेसम्म त्यसै छोडिन्छ ।

हरेक दिन अवस्था हेरेर निश्चित मिटर रनवेमा स्तरोन्नतिको काम हुने गरेको छ । यही प्रक्रियाअनुसार तीन महीनाभित्र तीन किलोमिटर लामो धावनमार्ग पूरै नयाँ बन्नेछ । धावनमार्गको काम सँगसँगै सेन्ट्रल लाइट (धावनमार्गको बीचमा जमीनमुनि राखिने लाइट) राख्ने काम पनि सँगसँगै भइरहको छ । अहिले हरेक दिन ८० मिटर धावनमार्ग जोतेर पिच परिवर्तन गरी बिहान ८ बजे विमानस्थल सञ्चालन गरिन्छ । क्रमशः यो १०० मिटर हुँदै अझ क्षमताका साथ काम गर्ने योजना रहेको आयोजनाले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले धावनमार्गको पूर्णमर्मतको काम निरन्तर भइरहेको बताए । 

कक्षा १२ को परीक्षा सुरु

कक्षा १२ को वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ । 

देशभर एकैसाथ बिहान ७ बजेदेखि परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागि रहेको बोर्डले जनाएको छ । परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । 

यस्तै वैशाख २९ गतेबाट कक्षा ११ को परीक्षा सुरु हुनेछ । 

 कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागि हुनेछन् । 

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ । 

संसद्को बजेट अधिवेशनको तयारी पूरा 

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को सोमबारदेखि शुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा यही वैशाख १६ गते अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । 

पेट्रोलियम पाइपलाइन 

दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । 

बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइपलाइन विछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । 

अज्ञात रोगले ८ को मृत्यु

अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन ।

एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । 

बर्दियाको तापक्रम ४५ डिग्री

बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । 

वैशाखको दोेस्रो सातामै बर्दियाको तापक्रमले ४५ डिग्री नाघ्नुका साथै दिनभरि तातो हावा (लू) चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो ।

रसुवागढी र साञ्जेनको साधारण शेयर 

जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा सर्वसाधारणले उत्साहपूर्ण सहभागिता जनाएका छन् । चिलिमे जलविद्युत् कम्पनीका दुई सहायक कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको शेयरमा  तीन करोड बढीको आवेदन परेको हो । चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाका अनुसार दुई वटा कम्पनीको साधारण शेयरमा रु तीन करोड १७ लाख बराबरको आवेदन परेको हो । 

रसुवागढीको शेयरमा तीन लाख सात हजार आवेदकले एक करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । रसुवागढीले रु एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्री गरेको थियो । यस्तै साञ्जेन जलविद्युत् कम्पनीले रु ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर रसुवागढीले ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो । 

कोइरालाका अनुसार साञ्जेनको शेयरमा  तीन  लाख चार  हजार २१४ आवेदकले रु एक करोड ४१ लाख ४१ हजार ७५० कित्ता शेयरमा आवेदन दिएका छन् । दुईवटै कम्पनीको शेयरमा छ लाख बढी आवेदकले आवेदन दिएका छन् । सम्पूर्ण विवरण तयार पार्न केही दिन लाग्ने भएकाले आगामी साता शेयरको बाँडफाँट हुने सम्बन्धित कम्पनीले जनाएका छन् । 

कार्यालय प्रमुख गोइत पक्राउ

किर्ते उपभोक्ता समिति गठनमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइतलाई पक्राउ गरेको छ ।

रकम अपचलन गर्ने सरकारी छाप किर्ते गरी उपभोक्ता समिति बनाएको प्रकरणमा छानबिनका लागि सिरहा प्रहरीको सहयोगमा यादवलाई सिरहास्थित सरकारी निवासबाट पक्राउ गरी सप्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । 

राजदूतावासमा राष्ट्रपति भण्डारी

चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङस्थित नेपाली राजदूतावासमा शनिबार आयोजित स्वागत कार्यक्रममा उपस्थित भएकी छिन् । 

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताबीच आरम्भ भएको नेपाल तथा चीनबीच सम्बन्ध हजारौँ वर्षदेखि घनिष्ठ रहँदै आएको र हाल यो सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताए । 

मन्त्री ज्ञवालीले नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधीनतामा चीनको समर्थनप्रति सम्मान व्यक्त गर्दै नेपाल एक चीनको नीतिमा अडिक रहेको बताए । 

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङस्थित नेपाली दूतावासले मुलुकको सामाजिक, आर्थिक र पर्यटकीय प्रचारप्रसारमा ठोस काम गरिरहेको जानकारी दिए ।  

गाउँपालिका अध्यक्षको तलब विपन्नलाई 

दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका सात जना व्यक्तिलाई रु एक लाख ८० हजार हस्तान्तरण गरेको बताए ।  

यतीले एटिआर जहाज ल्यायो

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा चौँथो ‘एटीआर–७२–५००’ जहाज भित्र्याएको छ ।

नाइन् एन एएनसी जहाज थाइल्याण्डको राजधानी बैंककबाट उडेर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने लक्ष्यका साथ यतीले जहाज थपेको हो ।

 

 

salt training

कमेन्ट गर्नुहोस्