
काठमाडौँ - सोमवार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई व्यवहारिक ढंगबाट नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको छ ।
सरकारले अंगीकार गरेको 'समृद्ध नेपाल, सुखी नेपाली' कार्यक्रमलाई व्यवहारमा देखिने गरेर कार्यक्रम ल्याउन सरकारलाई सचिवालय बैठकले सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । सरकारले आउँदो शुक्रवार संसदमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका रहेको छ ।
आजबाट शुरू भएको संघीय संसदको वर्षे अधिवेशनमा आउँदो शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ ।
त्यही नीति तथा कार्यक्रमका आधारमा आगामी जेठ १५ गते सरकारले बजेट पेश गर्नेछ । संविधानमै उल्लेख गरिएको 'समाजवाद उन्मुख' अर्थतन्त्र बनाउने दिशातर्फ सरकार अघि बढ्नुपर्ने सचिवालय सदस्यहरूले सरकारलाई सुझाव दिएको एक सचिवालय सदस्यले बताए ।
'पार्टीको पोलिटब्युरो र जनवर्गीय संगठनको एकीकरण प्रक्रिया टुंग्याउन विधी र मापदण्ड तय गर्नेबारेमा पनि अनौपचारिक छलफल भएको हो,' उनले भने, 'तर मुख्य फोकस भने सरकारको नीति तथा कार्यक्रम कस्तो रहने भन्ने विषयमै भयो ।'
सरकार जनतामाझ अलोकप्रिय हुँदै गइरहेको भन्दै उनले जनतालाई निराश नपार्ने गरी काम गर्न सरकारलाई सल्लाह र सुझाव दिएको उनको भनाइ छ । बिहान ९ बजेदेखि शुरू भएको सचिवालय बैठक दिउँसो अबेरसम्म बसेको थियो ।
बैठकले पोलिटब्युरो गठनका विषयमा सहमति जुटाउने आंकलन गरिएको भएता पनि नेताहरू सरकारको नीति तथा कार्यक्रम जनपक्षीय हुनुपर्नेमा जोड दिएका हुन् । सोमवारबाट शुरू हुने वर्षे अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको सशक्त प्रतिरोध गर्ने नीति लिएको छ