
काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र चीन बीच केही वर्षयता विकास हुँदै गएको आपसी सम्बन्धले दुवै देशका निजी क्षेत्रबीच समझदारी भई लगानी र औद्योगिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपतिको समुपस्थितिमा चीनको बेइजिङमा वैशाख १५ गते आयोजित 'नेपाल-चीन आर्थिक तथा व्यापार मञ्च' मा परिसंघको अध्यक्षको तर्फबाट उनले उक्त विचार व्यक्त गरेका हुन् ।
उक्त मञ्चमा बोल्दै परिसंघका अध्यक्ष मोरले दक्षिण एशियाका मुलुकमध्ये नेपाल लगानीको लागि राम्रो अवसर भएको मुलुक रहेको बताएका थिए । हालै नेपाल सरकारले लगानी सुरक्षाको लागि उद्योग–व्यवसायसँग सम्बन्धित कानून, नीतिका साथै यस क्षेत्रमा प्रक्रियागत एवं संरचनात्मक सुधार गरेकोले कुनै पनि लगानीकर्ताले नेपालमा निश्चिन्त भई लगानी गर्न सक्ने वातावरण बनेको विश्वास दिलाउँदै उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गरेका थिए ।
उनले नेपालमा हालै सम्पन्न 'नेपाल लगानी सम्मेलन २०१९' मा चिनिया लगानीकर्ताको सहभागिता त्यसभन्दा अघि चीनमा आयोजित 'पूर्व लगानी सम्मेलन', 'नेपाल–चीन आर्थिक तथा व्यापारिक मञ्च'मा व्यक्त विचारबाट समेत चीनको निजी क्षेत्रले नेपाल लगानीको लागि भरपर्दो र विश्वासिलो देशको रूपमा लिएको आफ्नो अनुभव रहेको बताएका थिए । उनले मन्तव्यमा भनेका थिए, 'नेपालमा कार्यरत बहुराष्ट्रिय कम्पनीहरू नै लगानीका सफल उदाहरणहरू हुन्, जसले राम्रो नाफा आर्जन गरेका छन् ।' उनले नेपाली उत्पादनलाई बजारको समस्या नरहेको, नेपाल-भारत वाणिज्य सन्धि, नेपाल चीन वाणिज्य सन्धि र नेपाली वस्तुहरूको निकासीमा अमेरिका र युरोपका बजारमा प्राप्त हुने भन्सार सहुलियत महत्वपूर्ण फाइदा रहेको जनाए ।
नेपाली उत्पादनको निकासीमा समस्या नरहेको भन्दै चीनबाट शुरू भएको बीआरआई जस्ता ठूला परियोजनाबाट नेपाली उद्योग व्यवसाय प्रवर्द्धन गर्ने क्षेत्रमा राम्रो फइदा हुने विश्वास व्यक्त गरे । उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन समेत आग्रह गरेका थिए ।
अध्यक्ष मोरले नेपाल उद्योग परिसंघ र चीनको सीसीपीआईटी बीचको आपसी समझदारी र सहकार्यले दुई देश बीचको लगानी र व्यवसाय प्रवर्द्धनमा थप सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।