
काठमाडौं- आमा सरस्वतती मुभिज र रोहित अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरीको अपोजिटमा अभिनेत्री केकी अधिकारीले अभिनय गर्ने भएकी छिन् ।
सोमबार चलचित्रको औपचारिक घोषणा गर्दै मुख्य नायिकाको भूमिकामा केकीलाई अनुबन्धित गरिएको जानकारी दिईयो ।
चलचित्र ‘छ एकान छ’बाट चलचित्र निर्माणमा होमिएका दीपकराज र दीपाश्री निरौलाको बाहिरी ब्यानरसंगको सहकार्यमा ‘छ माया छपक्कै’ निर्माण हुन लागेको हो । उनिहरुले ‘गाजलु’ निर्माता रोहित अधिकारीसंग सहकार्य गरेर निर्माणमा होमिएका हुन् । दीपकराजको टिमले विना लगानी ५० प्रतिशत मुनाफा लिने सर्तमा यो चलचित्रमा काम गर्न लागेको हो ।
चलचित्रलाई ‘घामपानी’, ‘गोपी’ चलचित्र निर्देशन गरेका दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । दीपाश्री निरौला भने चलचित्रको निर्देशक सल्लाहकार रहेकी छिन् ।
कमेडी प्रेमकथामा निर्माण हुने चलचित्रमा अहिलेसम्म दीपकराज, केकी, केदार घिमिरे (माग्नेबुढा) र जितु नेपाल मात्र कलाकारको रुपमा फाइनल भएका छन् ।
चलचित्रलाई हरी हुँमागाईले खिच्नेछन् । चलचित्रमा कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । चलचित्रका गीतमा दीपक शर्माको संगीत रहनेछ ।
जितु नेपाल र केदार घिमिरे यो चलचित्रको कार्यकारी निर्माता रहेका छन् । त्यस्तै सह–निर्मातामा सुमन गिरी ‘भान्जा’ ताराचन्द्र बजगाई ‘निशान’, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी रहेका छन् ।