
लोकसभा चुनावलाई फूटबल खेलसँग तुलना गर्ने हो भने हाफ टाइम बितिसकेको छ अर्थात् सातमध्ये चारवटा चरणका मतदान सम्पन्न भइसकेका छन् ।
तर चुनावमा सत्तारूढ भारतीय जनता पार्टीका नेताले आफ्नो दलको पक्षमा स्पष्ट लहर रहेको भन्न सकेका छैनन् । त्यसको साटो उनीहरू नरेन्द्र मोदीको पक्षमा अन्डरकरेन्ट रहेको बताउँदैछन् ।
मतदाता आफैं पनि खुलेर कुरा गरिरहेका छैनन् । सन् २०१४ को चुनावमा मतदाताले खुलेर तत्कालीन कांग्रेस सरकारविरुद्धको आक्रोश व्यक्त गरेका थिए । अनि मोदीलाई देखेर खुशी भएको कुरा पनि लुकाएका थिएनन् ।
पाँच वर्षअघि मोदीको चुनावी सभाबाट फर्किने सबैजना मोदी, मोदी भन्थे । अहिले चाहिँ त्यस्तो माहोल देखिएको छैन ।
सन् २००२ मा भएको गुजरात हिंसापछि मोदी राष्ट्रिय परिदृश्यमा छाएका थिए । त्यतिखेर मानिसहरू कि त उनलाई मन पराउँथे कि त घृणा गर्थे । मोदीलाई समर्थन गर्नेको संख्या घटेको छैन भन्ने कुरा यो चुनावको परिणाममा देखिने सम्भावना छ । मोदीको विकल्प नरहेको भन्ने दाबीमा मानिसले विश्वास गरेको अर्थ पनि मतदाताको मौनताबाट लगाउन सकिन्छ ।
तर भाजपाका पक्षमा सन् २०१४ मा जस्तो उत्साह नदेखिनुको अर्को कारण पनि छ । बालाकोट कारवाहीपछि पार्टीले राष्ट्रियता र हिन्दुत्वमा फोकस बढाएको छ । उनको तारो पाकिस्तान हो र भारतमा रहेका कथित पाकिस्तान समर्थक पनि ।
मोदीले पाकिस्तानमाथिको शाब्दिक आक्रमणको मोर्चा आफैं सम्हालिरहेका छन् । वायनाडमा हिन्दूको संख्या कम भएकाले राहुल गान्धी त्यहाँबाट चुनाव लड्न गएका भनी मोदीले तर्क दिए । अनि बम विस्फोटकी आरोपित प्रज्ञा सिंह ठाकुरलाई उम्मेदवार बनाएर पनि मोदीले हिन्दूत्वलाई उचालिरहेका छन् ।
त्यसो त सन् २०१४ पछि देशको माहोल पनि परिवर्तन भएको छ । सबै जनतामाथि हिन्दूत्ववादी राष्ट्रवाद थोपरिएको छ । तैपनि धार्मिक अल्पसंख्यकहरूका बारेमा गहिरो गरी बसेको पूर्वाग्रहलाई सार्वजनिक गर्न मानिसहरू हिचकिचाइरहेका छन् । मोदीको पक्षमा अन्डरकरेन्ट छ भने यसको अर्थ हुन्छ बहुसंख्यक समुदायले आफ्नो काम मौनताका साथ गर्ने (चुपचाप भोट दिने) निर्णय लिएका छन् । यसबाट देशको विविधतापूर्ण सामाजिक संरचना खतरामा पर्छ ।
मोदीले अनेकौं भाषणमा आफूले सरकार चलाए मात्र वा सैन्य विकल्प प्रयोग गर्ने छुट पाएमा मात्र देश बच्ने बताउँदै आएका छन् । राष्ट्रिय दायित्व पूरा गर्नका लागि मतदाताले भोट दिनुपर्ने भनी उनको अभियान केन्द्रित देखिन्छ ।
मोदी पत्रकारहरूसँग प्रायः बोल्दैनन् । उनले अभिनेता अक्षय कुमारसँग अन्तर्वार्ता गरेर आफ्नो नरम साइडलाई उजागर गर्न खोजेका हुन् । सबै कुरा आफ्नै नियन्त्रणमा राख्ने कठोर नेताको छवि बन्दा जनता तर्सिने जस्तो देखेपछि मोदीले चतुराइका साथ अन्तर्वार्तामा नरम कुरा गरेका हुन् ।
भाजपाले जनतासमक्ष आफ्नो कुरा पुर्याउन हरेक उपाय अपनाइरहेको छ भने कांग्रेस चाहिँ दमदार योजना ल्याएर पनि कता कता अल्झिएको जस्तो देखिएको छ । कांग्रेसले न्यूनतम आयको प्रत्याभूतिको नारा दिएको छ र मतदातालाई आकर्षित गर्न त्यो पर्याप्त छ ।
सन् १९८९ मा राजीव गान्धीले अल्पसंख्यक र बहुसंख्यक जमातलाई लोभ्याउन खोज्दा कतै पनि सफल नभए जस्तै उनका छोरा राहुल गान्धी सन् २०१९ मा कुन चाहिँ कुरा प्राथमिकतामा पर्छ भन्ने विषयमै स्पष्ट छैनन् । मोदीलाई हराउने हो कि पहिला पार्टीलाई बलियो बनाउने हो कि प्रधानमन्त्री बन्ने हो भन्ने विषयमा उनी रनभुल्ल परेका छन् ।
उत्तर प्रदेश, पश्चिम बंगाल, मध्य प्रदेश, राजस्थान, हरियाणा र दिल्लीमा लगभग २०० सीटमा कांग्रेसको सम्भावना कमजोर बन्यो किनकि अन्य विपक्षी दलसँग कांग्रेसले सीट साझेदारी गर्नै सकेन ।
दिल्लीमा शीला दीक्षितलाई प्रमुख जिम्मेवारी दिएर अनि प्रियंका गान्धीलाई पार्टीमा औपचारिक रूपमा जिम्मेवारी दिँदा भविष्यका लागि रणनीति बनाइरहेको घोषणा गरेर कांग्रेसले आफ्नो प्रमुख उद्देश्यबाट ध्यान हटाएको छ । त्यो उद्देश्य भनेको मोदीलाई सत्ताच्युत गर्नु हो । भाजपा सत्तामा फेरि आएमा कांग्रेसले लामो समयसम्म पनि आफ्नो रणनीति दृढ बनाउन सक्ने सम्भावना छैन ।
चुनावका बाँकी तीन चरणमा भाजपाले आफ्नो सीट बढाउने आशा गरिरहेको छ । ती राज्यहरूमा राष्ट्रिय सुरक्षाका साथै हिन्दूत्वको भाजपा फर्मुला मानिसले मन पराउन सक्ने देखिन्छ । कांग्रेस र अन्य विपक्षी दलले यो फर्मुलालाई ध्वस्त पार्ने हो भने प्रत्येक सीटका लागि रणनीति बनाएर अघि बढ्नुपर्ने हुन्छ ।
इकोनोमिक टाइम्समा प्रकाशित नीलाञ्जन मुखोपाध्यायको विश्लेषण