१४ असार २०८३, आइतबार

हात्ती व्यवस्थापन कार्ययोजना ल्याउने तयारी

बैशाख १७, २०७६
हात्ती व्यवस्थापन कार्ययोजना ल्याउने तयारी

काठमाडौं- नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो नेपालको सहयोगमा पूर्व, मध्य र पश्चिम गरी तीन क्षेत्रमा सुझाव संकलन थालिएको छ । पश्चिम बर्दियामा सुझाव संकलन्छि सोमवार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई मध्यनजर गर्दै चितवनको सौराहा छलफल गरिएको छ । 

संरक्षणको क्षेत्रमा खटिएका अगुवाले हात्तीको वासस्थापन निर्माणमा जोड दिनुका साथै मानिसका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक नरेश सुवेदीले पछिल्लो समय तराईका सबै जिल्लामा हात्ती पुग्न थालेकाले यसले मावन र वन्यजन्तुबीचको द्वन्द्वको खतरा बढ्दै गएको बताए । उनले भने, 'पहिले नवलपरासी, रुपन्देहीलगायतका क्षेत्रमा हात्ती देखिन्थेन, अहिले सबै ठाउँमा देखिन थालेको छ, यसले चुनौती थपिएको छ ।'

सरकारले हात्ती संरक्षणका लागि बनाएको १० वर्षे कार्ययोजना कार्यान्वयनको अवस्था कमजोर देखिएको उनले बताए । 

सन् २०१८ मा कार्ययोजनाको अवधि सकिएको छ । यो अवधिमा कार्ययोजनाले नेपालमा हात्तीको सङ्ख्यासमेत पत्ता लगाउन नसकेको उनको गुनासो छ । हात्ती संरक्षणका लागि वासस्थान, आहार व्यवस्थापनसँगै हात्ती हिँड्ने करिडोर निर्माण गर्नुपर्ने आवश्यकता देखिएको सुवेदीले बताए । 

वन्यजन्तु चिकित्सक कमल गैरेले हात्तीको आचरणअनुसार मानव बस्ती प्रवेशमा रोक लगाउन नयाँ–नयाँ उपाय ल्याउनु पर्ने सुझाव दिए । उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गराउन हात्ती हिँड्ने कोरिडोर क्षेत्रमा वर्षेनि तालिमको व्यवस्था हुनुपर्ने बताए । 

अयोध्यापुरी उपभोक्ता समितिका ईश्वरी सापकोटाले हात्तीलाई मानव बस्तीमा प्रवेश रोक लगाउन सिमेन्टयुक्त वाल लगाउनु उचित रहेको सुझाव दिए । कृष्ण आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्