११ साउन २०८३, सोमबार

कम्युनिष्टको सरकार बने मात्र तराई-मधेशमा जनताको हित हुन्छ : प्रचण्ड

बैशाख १७, २०७६
कम्युनिष्टको सरकार बने मात्र तराई-मधेशमा जनताको हित हुन्छ : प्रचण्ड
फाइल फोटो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने बताएका छन् ।

अध्यक्ष दाहालले भने, 'संविधान जनताको माग तथा आवश्यकताअनुसार परिमार्जन, विकास र संशोधन हुन्छ । त्यसमा नेकपा स्पष्ट छ ।' प्रदेश नम्बर २ मा क्रियाशील मधेश तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलवार पार्टीमा स्वागत गर्दै उनले संविधानलाई जीवन्त दस्तावेजको संज्ञासमेत दिए ।

अध्यक्ष दाहालले जनतालाई बढीभन्दा बढी अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको उल्लेख गरे । उनले संविधान संशोधनका लागि प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर प्रक्रिया शुरू गरिने बताए । 

सबैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरूको रहेको भन्दै तराई मधेश क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने, 'हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसँग जोड्ने द्रुतमार्गको  काम पनि अघि बढेको छ ।'

उनले तराई मधेशमा सरकार मधेशी जनताको हित अनुकूल नचलेको बताए । 'तराई मधेशमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ,' उनले भने । 

प्रदेश नं २ मा रहेर राजनीति गरिरहेका मधेश तराई पार्टीका अध्यक्ष अमर यादवले नेकपामा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, सशस्त्र द्वन्द्व, मधेश आन्दोलन एवं आदिवासी, जनजातिलगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात् गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्