
सुर्खेत- सुर्खेतमा जारी वाइवाइ कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मध्यपश्चिम क्रिकेट क्लबलाई १०७ रनले पराजित गरेको छ ।
समुह 'ए'बाट ३ खेलमा २ जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा समेत प्रवेश गरेको छ । सोही समुहबाट ३ खेलमा ३ जित दर्ता गर्दै कर्णाली ११ ले यसअघि नै सेमिफाइनलमा स्थान बनाएको थियो । समुह 'बी'बाट भने एपीएफ, न्यु होराइजन बुटवलको समान ४–४ अंक रहँदा बुधवार हुने खेलबाट सेमिफाइनलमा पुग्ने टोलीको निर्णय हुनेछ ।
दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई सहज जित दिलाउन राजेश पुलामीले उत्कृष्ट प्रदर्शन गरे । कालिन्चोक मैदानमा मंगलबार टस जितेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन जोडेको थियो । राजेश पुलामीले ५७ रन तथा हरि बहादुर चौहानले ५३ रन जोडेका थिए ।
राजेशले ३५ बलमा ५ चौका र ३ छक्का सहित ५७ रन जोड्दा हरिले ३७ बलमा ७ चौका र १ छक्का सहित ५३ रन जोडे । मध्यपश्चिमको बलिंगमा अमित तामांगको नाममा २ विकेट रह्यो । जवाफमा १७९ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम १६.४ ओभरमा ७१ रनमा समेटिन पुग्यो ।
प्रनित थापा मगरले १९, तुलसीराम अहिमले १२ र मनोज सुनार र आकाश बिष्टले समान १०–१० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीको बलिंगमा कुशल मल्लले सर्वा्धिक ४ विकेट हात पारे ।
यस्तै सुसन भारी र साहब आलमको नाममा समान २–२ विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच राजेश पुलामी घोषित भए । यस्तै दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको थियो । कालिन्चोक मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको न्यु होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो ।
हिमालयनको लागि दिपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए । होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले समान दुइ दुइ विकेट लिए । ९३ रनको लक्ष्य न्यु होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो । निश्चल चौधरीले विस्फोटक इनिंग खेल्दै २९ बलमा ४ छक्का र ३ चौका मदतले अविजित ५० रन बनाएपछि होराइजनले जित हाँसिल गर्यो ।
सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए । लक्ष्य पछ्याउने क्रममा ३२ रनमै ५ विकेट गुमाएको होराइजनलाई निश्चल र शक्तिले ६६ रनको साझेदारी गर्दै जितसम्म पुर्याएका थिए। हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए पनि जित हाँसिल गर्न पर्याप्त रहेन ।