
विराटनगर- अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा विराटनगरमा भएका कार्यक्रममा मजदुरका मुद्दा भन्दापनि राजधानीका मुद्दा केन्द्रीत भएको छ । जसले गर्दा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मजदुरका मुद्दा ओझेलमा परेको छ ।
विराटनगरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांशले मजदुरका मुद्दालाई भन्दा पनि राजधानीका विषयमा केन्द्रीत भएका हुन् । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले सरकारविरुद्ध लाग्न श्रमिकहरूलाई आह्वान गरे ।
अहिलेको सरकारले जनतालाई झुक्याउने काम गरेको आरोप लगाउँदै उनले मजदुरहरूलाई सरकारविरुद्ध लाग्न आग्रह गरे । विराटनगरलाई नै राजधानी तोकिनुपर्ने दावी गरेका मेयर पराजुलीले यदि विराटगरलाई बाइपास गरिए त्यो विराटनगरवासीका लागि मान्य नहुने स्पष्ट पारे ।
प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीेले विराटनगरवासी २ दिन जाग्राम बस्नुपर्ने दिन आएको बताए । ‘अहिले प्रदेश सरकारले गलत निर्णय लिनसक्ने भन्दै त्यसलाई खबरदारीको खाँचो छ,' कार्कीले भने, ‘मजदुरको ऐतिहासिक आन्दोलनको थलोलाई उपेक्षा गरिए त्यसको परिणाम राम्रो आउँदैन ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मजदुरको आन्दोलन शुरू भएको विराटनगरको आफ्नै पहिचान रहेको उल्लेख गरे । मजदुरसँग जोडिएको विराटनगरको साख गिराउन खोजेको आरोप लगाउँदै अर्यालले नेकपाको त्यो तयारीविरुद्ध लाग्न मजदुरहरूलाई आह्वान गरे ।
सरकारविरुद्ध लाग्न सिटौलाको आह्वान
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारविरुद्ध लाग्न कांग्रेस कार्यकर्तालाई आह्वान गरेका छन् । प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्ने बेलामा सरकार उपलब्धी विहीन भएको आरोप लगाउँदै उनले अब कांग्रेसले ल्याएको संविधानमार्फत ल्याइएको संस्थागत उपलब्धीको रक्षाका लागि लाग्न उनले मजदुर तथा किसानको भूमिका हुने भन्दै त्यसमा लाग्न आग्रह गरे ।
पछिल्लो समय सरकारका गतिविधि श्रमिक माथिको प्रहारमा केन्द्रीत रहेको आरोप लगाउँदै सबै श्रमिक क्षेत्रलाई अंकुश लगाउने काम भएको उनले बताए । ठूलो राजनीतिक उपलब्धीपछि आएको सरकारले पनि श्रमिक समुदायका लागि समेत सामान्य जीवनमा परिवर्तन ल्याउने खालका काम नगरेको सिटौलाको भनाइ छ । उनले राज्यको हरेक क्षेत्रमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने उनको माग छ ।