
पोखरा- पोखरामा एक होटल व्यवसायीलाई उनकै होटलमा बसेका ग्राहकले अपहरण गरी हत्या प्रयास गरेका छन् ।
दुई दिनदेखि पृथ्वीचोकस्थित उनको होटल निलकमलमा बस्दै आएका तीन भारतीयहरूसँग होटलमा खाएको बिलको पैसा मागेपछि एटीएमबाट पैसा निकालेर दिने भन्दै सँगै लिएर गएका होटल व्यवसायी शालिकराम पौडेललाई अपहरण गरी हत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
भारतको विहार राज्यको बक्सर जिल्ला मोफिसिल बनारपुर घर बताउने ३९ वर्षिय सुनिलकुमार तिवारी, २६ वर्षीय अरबिन्द तिवारी र २७ वर्षीय अभिजित रायले अपहरणको प्रयास गरेका हुन् । व्यवसायी पौडेललले एक हप्ता अघिदेखिमात्र होटल सञ्चालन गर्न थालेका हुन् ।
अपहरण र हत्याको आरोपमा पक्राउ परेको भारतीयहरूले मंगलवार बेलुकादेखि होटल निलकमलमा भारतीय नम्बर प्लेटको बीआरआईसीडब्लु ५२७४ नम्बरको प्राइभेट कारसहित बसेका थिए । त्यस बेलुका होटलको कोठा बुक गरेपछि उनीहरूले मदिरा सेवन गरेका थिए । बिहान सबेरै उठेका उनीहरूलाई होटल सञ्चालक शालिकरामले बिल १५ हजार ५ सय रुपैयाँ उठेको जानकारी गराए । त्यसपछि उनीहरूले आफूहरूसँग नगद सकिएको भन्दै केहीबेरमा एटीएमबाट निकालेर दिने भन्दै होटल व्यवसायीसँग थप ६ हजार ५ सय रुपैयाँ नगद लिएका थिए ।
व्यवसायी पौडेलसँग नगद लिएपछि उनीहरू एटीएमबाट पैसा निकालेर आउने भन्दै कार चढेर निस्कन लागेपछि होटल व्यवसायी पौडेलले इन्कार गर्दै तीन जना मध्ये एक जनामात्र एटीएममा गएर पैसा निकालेर ल्याउन आग्रह गरेका थिए ।
व्यवसायी पौडेलले अड्डी लिएपछि उनीहरूले एटीएमसम्म सँगै जाउँ भनेका थिए । त्यसपछि पहिलेदेखि नै शंका गरिरहेका व्यवसायी पौडेलले होटलको स्टाफ ईश्वर पौडेललाई पनि साथमै लिएर उनीहरूको कारमै गएका थिए ।
पौडेलले सभागृह चोक नजिक पुगेपछि एसबीआई बैंक यही छ भन्दै त्यहीँबाट पैसा निकाल्न आग्रह गरे । तर उनीहरूले तलबाट निकाल्ने भन्दै सृजनाचोक हुँदै ड्यामसाइडमा पुर्याएर चिया पिउने भन्दै कार रोके । व्यवसायी शालिकराम र स्टाफ ईश्वरले चिया पिउँदै गरेको मौका छोपेर उनीहरू त्यहाँबाट भाग्ने प्रयास .गरेका थिए । तर पौडलले उनीहरूलाई पछाए । कारमै बसिहाले । तर स्टाफ चिया पिउँदै गरेकाले छाडेर कार कुलेलम ठोक्यो । त्यसपछि तीन जनाले हिन्दीमा आफूहरूको प्लान सफल भएको बताएको होटल सञ्चालक शालिकरामले जानकारी दिए ।
चिया पिउने बहानामा भाग्ने योजनामा रहेका भारतीयका चाला बुझेका पौडेलले तत्कालै आफ्नो नातेदार मित्रलाल ढकाललाई फोन गरेर उनीहरू भाग्न लागेको भन्दै छोरेपाटन प्रहरीलाई जानकारी दिन आग्रह गरे ।
त्यसलगत्तै उनीहरूले पौडेलको मोबाइल खोसे र स्वीच अफ गरे । त्यसपछि उनको घाँटी अठ्याएर मार्ने प्रयाससमेत गरेको पीडित शालिकरामले बताए ।
उनीहरूले घाँटी अठ्याएर मार्ने प्रयास गरेपछि शालिकरामले बल्लतल्ल कारको सीसा खोल्न सफल भएर हेल्प हेल्प भन्दै चिच्याए । उनले गुहार माग्दामाग्दै कार विरौटा चोक हुँदै बरालफिडसम्म पुगिसकेको थियो । उनी बेस्सरी झ्यालबाट टाउको निकालेर चिच्याउन थालेपछि भारतीयहरूले कारको सीसा लगाएर घाँटी थिच्ने प्रयास गरे । त्यो पनि सफल नभएपछि उनीहरूले कारको ढोका खोलेर रोडमा घचेटिदिएका थिए ।
अपहरणको सूचना पाएपछि छोरेपाटन प्रहरीलेसुरक्षा ब्यबस्था कडा पारेको थियो तर, उनीहरु प्रहरी चौकीको बाटो नगई तिब्बतियन क्याम्प हुदै स्याङ्जातर्फ भागेका थिए।