
काठमाडौं -लमजुङको राईनास नगरपालिका- वडा नम्बर ४ अल्काटारका आशिश कुमाल बेहुली लिन जन्ती लिएर बुधवार गोरखा आएका थिए ।
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ कुमाल गाउँका दुर्गाबहादुर कुमाल र जानकी कुमालकी छोरी अञ्जली कुमालसँग उनको विवाह हुँदै थियो ।
परम्परा अनुसार नै धुमधामका साथ विवाह सम्पन्न भयो । माइती पक्षले बेहुली अन्माएर पठाए । बेहुली लिएर ससुराली गाउँ पार गर्ने क्रममै थिए आशिश ।
जन्ती आएका केही युवाले स्थानीय युवतीलाई जिस्क्याएछन् । दुई पक्षबीच भनाभन शुरू भयो ।
सामान्य भनाभनबाट शुरू भएको स्थिति तनावग्रस्त बन्न पुग्यो ।
आक्रोशित स्थानीयले बस रोकेर जन्तीमाथि कुटपीट गरे । त्यसक्रममा जन्ती पक्षका ३४ वर्षीय विष्णुबहादुर कुमाल गम्भीर घाइते बने ।
कुमाललाई प्रारम्भिक उपचारका लागि स्थानीय अस्पताल लगियो । त्यहाँ उपचार सम्भव नभएपछि पोखरा पठाइयो ।
पोखराको गण्डकी अस्पतालमा पुगेपछि चिकित्सकले कुमाललाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय ढाँटीपोखरीका प्रहरी नायव निरीक्षक हरि थापाले जानकारी दिए ।
बेहुला र बेहुलीलाई घर पठाएर प्रहरीले घटनामा संलग्न स्थानीयलाई नियन्त्रणमा लियो ।
'परम्परा पनि पूरा गर्नुपर्ने हुन्छ, त्यसैले बेहुला/बेहुलीलाई बेलुका नै पठाइदिएँ,' प्रनानि थापाले लोकान्तरसँग भने, 'घटनामा संलग्न र त्यहाँ उपस्थित गरी १२/१३ जनालाई नियन्त्रणमा लिएका छौं ।'
हिजो बेलुकाबाट शुरू भएको तनाव अहिले पनि जारी छ ।
अभियुक्तहरूलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाउने तयारी भएपनि जन्ती पक्षको अवरोधका कारण सम्भव नभएको थापाले जानकारी दिए ।
जन्ती पक्षले प्रहरी कार्यालयमा ढुंगामुडा समेत गरेका छन् । 'नियन्त्रणमा लिएकाहरूलाई मुद्दा चलाउन जिल्ला पठाउने क्रममा जन्ती पक्ष आएर ढुंगामुढा गरे,' प्रनानि थापाले भने, 'आजै जिल्ला चलान गर्छौं ।'
अभियुक्तहरूलाई जिल्ला पठाउनुअघि माइती परिवारलाई बोलाएर छलफल गर्नुपर्ने, क्षतिपूर्ति पाउनुपर्ने र दोषिमाथि कडा कारवाही हुनुपर्ने अडान जन्ती पक्षले राखेका छन् ।