
काठमाडौं– इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक एक युवाको ज्यान गएपछि सर्वसाधारणमा त्रास उत्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याटल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्यू पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो ।
बर्डफ्लुबाट मृत्यु हुने व्यक्ति ढिला गरि उपचारमा आएको र औषधि दिएर पठाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका निर्देशक डा विवेकलाल कर्णले जानकारी दिए ।
उनले परिवारलाई भेटेपछि उनको मृत्यु भएको थाहा पाएको बताए ।
चैत १० गते ती बिरामी ज्वरो र खोकीको लक्षण सहित बिरामी भएर अस्पताल भर्ना भएका थिए भने चिकित्सकले इन्फुएन्जाको संक्रमण भएको शंका लागि घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि पुष्टि हुन नसकेपछि जापान पठाइएको थियो ।
मन्त्रालयले सो घटनापछि अरु बिरामीमा भने प्रयोगशाला परीक्षणका क्रममा उक्त भाइरसको संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।
भाइरसले धेरैजसो पंक्षीहरुमा संक्रमण गर्ने गर्दछ भने पंक्षीहरुको मृत्यु समेत हुने गर्छ । यही क्रममा सो भाइरस मानिसमा समेत सर्ने गरेको पाइएको छ ।
यसैबीच सरकारले बर्ड फ्लूबाट डराइहाल्नु पर्ने अवस्था नरहेको बताएको छ ।
बर्ड फ्लूबाट एक जनाको मृत्यु भएपछि सर्वसाधारणमा त्रास फैलिएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य सावधानी अपनाए रोगबाट बच्न सकिने जनाएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले नियमित सावुन पानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, आफ्नो वरिपरिको वातावरण सफा राख्ने, बिरामी तथा मरेका कुखुरा तथा पंक्षीबाट टाढा रहने, कुखुराको मासु राम्ररी पकाएर खानेलगायतका सावधानी अपनाइए यो रोगबाट बच्न सकिने बताए ।
नीति तथा कार्यक्रम आज
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।
११ दलसँग एकता गर्न फोरमको पहल
संघीय समाजवादी फोरमले ११ दलसँग एकता पहल थालेको छ ।
नयाँ शक्ति नेपाल, राजपा, जनमुक्ति,लोकतान्त्रिक, थरुहट पार्टीलगायत दलसँग एकताका लागि वार्ता भइरहेको फोरमका सांसद रामसाह प्रसाद यादवले जनाए ।
‘कुनै पार्टीसँग पनि वार्ता अन्तिम चरणमा पुगेको छैन’ वार्ता समितिको सदस्य समेत रहेका उनले भने, ‘सबै सकारात्मक छन् तर आजभोलि नै एकीकरण हुन्छ भन्ने होइन ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
बालुवाटार जग्गा प्रकरणमा मन्त्री
सरकारले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि उन्मुक्ति नदिइने प्रष्ट पारेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ताको विषयमा विभिन्न टीकाटिप्पणी चलिरहेको सन्दर्भमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उक्त प्रकरणमा सरकारको ‘पोजिसन क्लियर’ रहेको भन्दै तथ्य प्रमाणले दोषी देखिए कसैलाई पनि छुट नहुने उल्लेख गरेका हुन् ।
यसैबीच मन्त्रिपरिषद्को बैठकले पन्ध्रौँ योजना (आर्थिक वर्ष २०७६÷७७–२०८०÷८१ को आधार पत्र स्वीकृत गरेको छ । पाँच वर्षे योजनाले नेपालको आर्थिक रुपान्तरणदेखि समग्र मानवीय, भौतिक, सामाजिक, सबै तहका विकास अब कुन दिशातर्फ जानेछन् भन्ने हिसाबले आधार पत्र आएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।
बैठकले सबै स्थानीय तहमा ‘सव नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन’ सफ्टवेर लागू गर्ने निर्णय गरेको छ । उक्त प्रणाली तीन तह स्थानीय, प्रदेश र सङ्घीय सरकारमा लागू गरिनेछ । बजेट निर्माण, निकास, खर्च गर्ने र सोको प्रतिवेदनसमेत पेश गर्ने वैज्ञानिक प्रणाली स्थापित हुनुपर्छ । प्रणालीले सबै ‘डुब्लिकेसन’ रोक्दै आर्थिक पारदर्शिता कायम गर्न सहज हुनेछ । यो सबै तहमा एउटै मोडलको हुने जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकले साउदी विकास कोषबाट भूकम्पपछिको पुनःनिर्माणका लागि उपलब्ध हुने करीब रु तीन अर्ब ३३ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै हातहतियार खरखजना नियमावली, २०२८ को अनुसूची ११ (क) मा संशोधन गर्ने निर्णय गरेको छ । यसमा खासगरी नवीकरण र दर्ता शुल्कमा बढोत्तरी गरिएको छ ।
रसुवागढी र साञ्जेनको शेयर बाँडफाँट
रसुवागढी हाइड्रो पावर लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरको बाँडफाँट गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार भएको बाँडफाँटअनुसार रसुवागढीमा आवेदन गर्ने सबैले ४० कित्ता शेयर पाएका छन् । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको शेयरमा आवेदन गर्ने सबैले २० कित्ता शेयर पाएका छन् ।
रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० सम्म शेयर पाएका छन् भने ४० कित्तासम्म माग गर्ने आवेदकले मागअनुसार नै शेयर पाएका छन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कूल ४० कित्ताभन्दा बढी शेयर माग गर्ने आवेदकलाई समान ४० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । त्यसरी बाँडफाँड गर्दा बाँकी रहेको दुई लाख ३६ हजार ९३० कित्ता शेयर गोलाप्रथा गरी २३ हजार ६९३ जनालाई थप १० कित्ता गरी कूल ५० कित्ता शेयर दिइएको छ ।
थप सात जनाले एक÷एक कित्ता गरी कूल ५१ कित्ता शेयर पाएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण शेयरमा रु एक अर्ब ७१ करोड ७० हजार बराबरको एक करोड ७१ लाख ७ हजार ८४० कित्ता शेयर माग भएको थियो । कूल तीन लाख दुई हजार ३४३ ले आवेदन गरेका थिए ।
यस्तै ११ हजार ७१ वटा आवेदन भने रद्द गरिएको छ । रद्द गरिएको आवेदनबाट मात्रै नौ लाख ८७ हजार ३७० कित्ता शेयरको माग गरिएको थियो । कूल माग मध्ये दुई लाख ९१ हजार २७२ वटा आवेदनबाट एक करोड ६१ लाख २० हजार ४७० कित्ताको माग मात्रै सदर भएको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिम्सिनाले जानकारी दिए ।
यसैबीच यूनियन हाइड्रो पावर कम्पनीको शेयर पनि बाँडफाँट भएको छ ।
कम्बोडिया र भियतनाम जाँदै ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता दक्षिणपूर्वी एशियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएका छन् ।
प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण गर्ने निश्चित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमशः न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो ।
बढुवा सिफारिस
गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
मन्त्रालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेको हो ।
पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए ।
प्रहरी वरिष्ठ उपरीक्षक पोखरेल हाल केन्द्रीय लागुऔषध ब्यूरो कोटेश्वरमा कार्यरत छन् ।
नाम र राजधानीसम्बन्धी प्रतिवेदन हस्तान्तरण
प्रदेश नं २ को नाम र स्थायी राजधानी बारे सुझाव सङ्कलन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन हस्तान्तरणपछि डा झाले प्रदेशको नाम र राजधानीबारे जनता र जनप्रतिनिधिको राय सङ्कलन गर्न आठवटै जिल्लाको सदरमुकाममा सार्वजनिक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि, नागरिक समाज, पेशागत सङ्घ सङ्गठन र सर्वसाधारणसमेतको राय सङ्कलन गरी प्रतिवेदन तयार पारिएको बताए ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि बढेको मूल्य लागू भएको छ ।
पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ । काठमाडौंँको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रति लिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
प्रदेशसभाको बैठक स्थगित
प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक बिहीबार विशेष कारण स्थगित भएको छ ।
प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनाअनुसार सो बैठक वैशाख २२ गते दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेशसभाको वैशाख १५ गते बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७५ नियम ५८ (क) बमोजिम प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव र सोही नियमावलीको नियम ५८ (ख) बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव वैशाख १९ गतेभित्र पेश गर्नु हुन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएका थिए ।
नाम र स्थायी राजधानीको विषयमा सहमति जुट्न नसकेर नै बैठक स्थगन भएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।
अज्ञात रोगबाट दुई जनाको मृत्यु
बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ ।
हिमाली गाउँपालिका–५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढा बुधबार मृत्यु भएको रुगिन स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रेमकला मल्लले जानकारी दिइन् । अनुसार सोही गाउँपालिका–५ नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको सोमबार मृत्यु भएको थियो ।
क्युडीमा सामान्य रुघाखोकी, ज्वरोको प्रकोप फैलिएको स्थानीय छप्कीबहादुर बुढथापाले जानकारी दिए ।
बिरामी भएका अधिकांशलाई सामान्य टाउको दुख्ने ज्वरो आउने बिरामी थला पर्ने र नाक, मुखबाट रगत आउनेजस्ता लक्षण देखापरेको बुढथापाको भनाइ छ ।
एकदिवसीय वरियतामा नेपाल यथावत्
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १४औँ स्थानमा यथावत् रहेको छ ।
आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १४औँ स्थानमा यथावत् रहेको हो ।
नयाँ वरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्ड, दोस्रो स्थानमा भारत, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा न्यूजिल्याण्ड र पाँचौँ स्थानमा अष्ट्रेलिया रहेको छ ।