काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमाजुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुका लागि संचालित दोस्रो चरणको ‘प्रहरी आचरण,व्यवहार तथा अंग्रेजी भाषा’ सम्बन्धी अनुशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
उक्त अनुशिक्षण समापनका अवसरमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रमुख आतिथिको आसनबाट बोल्दै विमानस्थलकार्यालयका प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कार्य उत्कृष्ट रहेको चर्चा गरे । आगामी दिनमा यात्रुहरुलाई शिष्ट, सभ्य,नम्र,व्यवहार गरीअझै प्रभाबकारी सेवा प्रवाह तथा उत्कृष्ट व्यवसायिकता प्रदर्शन गर्न उहाँले प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिए ।
उक्त अवसरमा नागरिक उड्डयन कार्यालय हवाई सुरक्षा विभागका प्रमुख प्रकाश चन्द्र ढकालले हाल विमानस्थल प्रहरीले भरपर्दो सुरक्षा व्यवस्था,पार्किङ व्यवस्थापन,यात्रुहरुको चेकजाँच,प्रहरीको टर्नआउट, आचरण व्यवहारमा सुधार ल्याई समन्वयका साथ रचनात्मक रुपमा उत्कृष्टता प्रदर्शन गरी सकारात्मक परिवर्तन ल्याई कार्य सम्पादन गर्दै आएको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै विमानस्थल कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले व्यवसायिक र इमान्दारीताका साथ रचनात्मक रुपमा कार्य सम्पादन गरिरहेको र आगामी दिनमा समेत अझै प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने दृढता व्यक्त गरे । विमानस्थल पार्किङ क्षेत्रलाई व्यवस्थित बनाइएको जानकारी उनले दिए ।
अनुशिक्षण कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई आचरण व्यवहार,प्रहरी व्यवसायिकता, स्मार्ट प्रहरी, शिष्ट सभ्य व्यवहार लगायत सामान्य अंग्रेजी भाषा समेत प्रशिक्षण दिलाइएको थियो । विमानस्थल सुरक्षा कार्यालयमा खटिने प्रहरी कर्मचारीहरुलाई स्वदेशी तथा विदेशी नागरिकहरुसँग बोलचाल र शिष्ट सभ्य तथा नम्र बनाई आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याई अंग्रेजी भाषामा समेत दख्खलता अभिवृद्धि गरी यात्रुसेवामैत्री बनाउने उद्धेश्यले अनुशिक्षण प्रदान गरिएको हो ।
बैशाख १० गतेबाट संचालित उक्त अनुशिक्षण कार्यक्रमबाट विमानस्थल प्रहरी,लागूऔषध नियन्त्रण व्यूरो, केन्द्रीय प्रहरी विशेष कार्यदल र पर्यटक प्रहरीमा कार्यरत ४ सय ५० जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका छन् ।