१९ असार २०८३, शुक्रबार
मुख्य समाचार

‘मेरो सरकार’ भन्दा राष्ट्रपति आलोचित, सानेपामा युवतीको विषयमा ग्याङफाइट

बैशाख २१, २०७६
‘मेरो सरकार’ भन्दा राष्ट्रपति आलोचित, सानेपामा युवतीको विषयमा ग्याङफाइट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गरेकी छन् । शुक्रवार संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।

सरकारका नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समावेश गरिएको छ । आगामी आर्थिक वर्षमा इतिहासकै तीव्र आर्थिक विकास, बारीका पाटा र खेतका गह्रा सबै हराभरा बनाउने घोषणा, ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक र आगामी वर्षभित्र ७७ वटै जिल्ला सडक सञ्जाल बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

राजधानी काठमाडौं उपत्यकालाई धुलोमुक्त बनाउने, सामाजिक सुरक्षा भत्ता बढाउने, श्रमिकको पारिश्रमिक बैंकबाटै भुक्तानी दिनेजस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थप देशसँग श्रम सम्झौता गरिने, समुन्द्रमा नेपालको झण्डासहितको पानीजहाज सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।

नीति तथा कार्यक्रममा ‘नेपालमा कोही भोको नपर्ने, भोकले कोही नमर्ने’ कार्यक्रम समावेश भएको छ । 
यता सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । राष्ट्रपति भण्डारीले सम्बोधनको क्रममा २१ पल्ट ‘मेरो सरकार’ उच्चारण गरेकी छन् ।
उनले गरेको मेरो सरकार शब्द उच्चारणको काँग्रेस सभापति शेरबहादुर देउवा, नेता गगन थापा, प्रवक्त विश्वप्रकाश शर्मा लगायतले पनि प्रश्न उठाएका छन् । 
प्रवक्ता शर्माले शुक्रवार साँझ ट्विट गर्दै देशमा नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार भनेर प्रश्न गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनै बेला ‘श्री ५ को’ सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे ! राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’


नीति तथा कार्यक्रममा जनचासोका विषय

इतिहासकै तीव्र आर्थिक विकासको वर्ष
नीति तथा कार्यक्रममा सरकारले आफ्नो कार्यकालको पहिलो वर्ष समृद्धिको आधार वर्ष बन्न सफल भएको दाबी गरेको छ । साथै आगामी वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने जिकिर गरेको छ ।
‘आफ्नो कार्यकालको पहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउन मेरो सरकार सफल भएको छ’ राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ, ‘अब सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीव्र गतिमा उत्कृष्ट उपलब्धिहरू हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नेछ । आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ ।’

सडक किनारा माटोरहित, उपत्यका प्रवेश गर्नुअगावै सवारी साधन सफाइ 

सरकारले सडकलाई धूलोमुक्त बनाउने दाबी पनि गरेको छ ।

त्यसका लागि राजधानी प्रवेश गर्ने सवारी साधनलाई स्वचालित प्रविधिबाट सफा गर्ने अवधारणा सरकारले अघि सारेको गरेको छ ।

‘सडक किनारालाई माटोरहित बनाउनुका साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरू र ठूला निर्माणस्थलमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ । निजी क्षेत्रसँगको सहकार्यमा उपत्यका लगायतका अन्य सहरी क्षेत्रमा वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सहरी सौन्दर्य कायम गर्न स्वच्छ सहर अभियान सञ्चालन गरिनेछ ।’

बारीका पाटा र खेतका गह्रा, सबै हराभरा 

१५औं पञ्चवर्षीय योजना अवधिभित्र कूल खेतियोग्य जमिनको ९० प्रतिशत भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने दाबी सरकारले गरेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘सँचित कृषि क्षेत्रको अभिवृद्धि, नेपालको समृद्धिु भन्ने मूल नाराका साथ आगामी १५औं योजना अवधिभित्र कूल कृषियोग्य भूमिको ९० प्रतिशत भूमिमा सिँचाइ सुविधा उपलब्ध हुने गरी पूर्वाधार विकास गरिने छ ।’

सरकारले पहाडका नदी तथा खोला आसपासमा हराभरा बनाउने जिकिर पनि गरेको छ ।

‘बारीका पाटा र खेतका गह्रा, हुन्छन् सबै हराभराु भन्ने नाराका साथ पहाडी क्षेत्रका नदी छेउछाउका कृषि योग्य जमिनमा सौर्य ऊर्जा समेत उपयोग गरी लिफ्ट सिँचाइ प्रणाली विकास गरिने छ’, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ,‘प्रदेश तथा स्थानीय तहको सहभागितमा तराईरमधेशका कृषियोग्य पकेट क्षेत्रहरूमा सौर्य ऊर्जामा आधारित भूमिगत सिँचाइ सुविधा उपलब्ध गराइनेछ ।’

कोही भोकै पर्दैन, कोही भोकले मर्दैन 

सरकारले अब नेपालमा कोही भोकले नमर्ने जिकिर पनि गरेको छ ।

‘गरीबीको मनोविज्ञान हटाई आत्मविश्वास जागृत गरिनेछ । मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरीबी अन्त्य गरिनेछ । अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।

सडकबाटै आपतकालीन विमान उडान, अवतरण 

सरकारले विमानस्थलहरूको स्तरोन्नतिसँगै सडकहरू पनि विमान उडानरअवतरण गर्न सक्ने गरी विकास गर्ने लक्ष्य राखेको छ ।

‘हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थलहरूलाई ठूला विमानहरू उडान र अवतरण गर्नसक्ने गरी विकास गरिनेछ । राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावनमार्गको रूपमा विस्तार गरिनेछ ।’

हिंसा हुन दिँदैन 

सरकारले महिला हिंसा हुन नदिने दाबी पनि गरेको छ ।

‘मेरो सरकारले अब महिलामाथि हिंसा हुन दिनेछैन । हिंसापीडित महिलाको उद्धार, राहत, मनोसामाजिक परामर्श र कानूनी उपचारका लागि पुनस्र्थापना केन्द्रहरू विस्तार गरिनेछ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

एक वर्षभित्रै सरकारी जग्गा सरकारकै नाममा 

नीति तथा कार्यक्रममा अतिक्रमित सम्पूर्ण सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउने दाबी गरिएको छ ।

‘मेरो सरकारले अतिक्रमित सम्पूर्ण सरकारी जग्गाहरू आगामी वर्षभित्र सरकारी कायम गर्नेछ,’ राष्ट्रपतिले संसद्मा भनेकी छन् ।

सुन खानीको सपना
‘सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौबादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन शुरू गर्नेछ। दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी तथा सम्भाव्य स्थानमा सुन खानी उत्खनन्का लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । बहुमूल्य पत्थरको प्रशोधन कारखाना स्थापना गरिनेछ । प्रशोधित बहुमूल्य पत्थरको निकासी प्रवद्र्धन गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । 

सामाजिक सुरक्षा भत्ता बढाउने

सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा सामान्यता बजेटमार्फत् हुने गरेको हो, तर यसपटक सरकारले नीति तथा कार्यक्रममा नै यस्तो घोषणा गरेको छ ।

‘विभिन्न निकायहरूवाट प्रदान गरिने सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई समन्वयात्मक रूपमा सञ्चालन गरिनेछ’ राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ’ ‘सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गरिनेछ ।’

एक वर्षभित्रै मेलम्चीको पानी

सरकारले मेलम्ची आयोजनाबाट आगामी आवभित्रै काठमाडौंमा पानी आइपुग्ने जिकिर गरेको छ ।

‘आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिनेछ,’ सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।

नीति तथा कार्यक्रममाथि तीन दिन छलफल 

    राष्ट्रपति भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने भएको छ ।
 सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते छलफल हुने जानकारी दिए ।  छलफलपछि प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् । 
    प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ । 

मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने 
    
    काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन् । 

    महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उनले  काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताएका हुन् । 

    प्रमुख जिल्ला अधिकारी आचार्यले उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि रु पाँच करोडको लगानीमा सिसी क्यामरा जडान गर्न लागेको जानकारी दिए । 

नेपालमा चक्रवात ‘फानी’को प्रभाव  

    चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ शुक्रबार मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा भएको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा शनिबार पनि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिए । 

    हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना देखिएकाले त्यहाँका बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ । चक्रवात ‘फानी’ हाल बङ्गालको खाडी तथा भारतको ओडिसा तटीय क्षेत्र नजिकै देखिएको छ । 

सानेपामा युवतीको विषयमा ग्याङफाइट

ललितपुरको सानेपामा युवतीको विषयमा दुई समूहबीच विवाद उत्कर्षमा पुगी झडप हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयागपोखरी बस्ने २० वर्षीय अन्सल शाक्य रहेको प्रहरीले जनाएको छ । उनको विपक्षी समूहको चक्कु प्रहारबाट मृत्यु भएको बताइएको छ । 


महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमोरियाले शाक्यको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको पुष्टि गरे । 
शुक्रबार साँझ भएको घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । ग्याङफाइटमा संलग्नहरु लागूऔषध दुव्र्यसनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रधानमन्त्रीको ध्यानाकर्षण
    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्पष्ट गरेका छन् । प्रेस सल्लाहकार डा कुन्दन अर्यालले वक्तव्य जारी गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उल्लेख गरिएझैँ प्रधानमन्त्रीले आफैँ अध्यक्ष रहेको आयोगलाई पत्र नपठाएको बताएका छन् । 

    “सांसद सम्पर्क कार्यालयमा सङ्कलन गरिएका आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशनबेगर निजी सचिवालयबाट भूलवशः राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ”, सल्लाहकार डा अर्यालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ प्रधानमन्त्रीको जानकारीमा नरहेको उक्त पत्रबाट ‘प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी हुनुभएको छ ।’ 

    आज आमाको मुख हेर्ने दिन
    
    काठमाडौँ–वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

    छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

    आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 

कार्यविधि बनाउँदै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउने भएको छ । 

    राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले अन्तर्राष्ट्रिय रुपमै महत्वपूर्ण र व्यावसायिक रहेको उक्त पेशालाई विश्वसनीय र वास्तविक बनाउन कार्यविधि ल्याउन लागिएको जानकारी दिए । 
 चार वर्षअघि यस्तै विविध समस्याका कारण १६ बैंक समस्याग्रस्त भएकामा अहिले विस्तारै १४ बैंकले सेवा दिन थाले पनि दुई बैंक अझै अगाडि आउन नसकेको बताए । 
 

    


 

salt training

कमेन्ट गर्नुहोस्