१४ असार २०८३, आइतबार

भारतीयलाई नागरिकता नदिन निगरानी

बैशाख २४, २०७६
भारतीयलाई नागरिकता नदिन निगरानी
सांकेतिक तस्वीर

पर्सा- पश्चिमी पर्साको जिराभवानी गाउँपालिका–४ सुपौलीमा रहेको इलाका प्रशासन कार्यालयमा वंशजको नागरिकता लिनेको भीड लागेको छ । यही भिडको फाइदा उठाएर भारतीय नागरिकले नक्कली नागरिकता नलेउन् भनेर सुपौलीवासीले निगरानी बढाएका छन् । 

विसं २०६३ मा तत्कालीन जनप्रतिनिधिले मोटो रकमको चलखेल गरी भारतीयलाई नक्कली नागरिकता दिलाएको स्मरण गर्दै सुपौलीका रामप्रवेश राउत थारुले भने, 'अहिलेका जनप्रतिनिधिले समेत आर्थिक प्रलोभनमा परेर कुनै भारतीयलाई नेपाली बनाएर नक्कली नागरिकता नलेओस् भनि हामीले निगरानी बढाएका छौं ।' 

सरकारले जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिने निर्णय गरेपछि गाउँपालिकाको वडा नं ४ सुपौलीमा रहेका इलाका प्रशासन कार्यलयमा नागरिकता लिनेको भीड बढेको छ ।

माध्यमिक शिक्षा परिषद (एसईई) भर्खरै सकाएका युवायुवतीले पनि नागरिकता बनाइ रहेकाले भीड बढेको छ । प्रदेश नं २ सरकारले महिलाका लागि विभिन्न योजना ल्याएकाले उनीहरू पनि नागरिकता लिन इलाका प्रशासन कार्यालय पुग्ने गरेका छन् । 

जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिन सरकारले ताकेको कागजी प्रक्रियामा कडाइ गरिएको प्रशासकीय अधिकृत गोविन्दप्रसाद भण्डारीले बताए । उनले भने, 'भारतीय वा गलत व्यक्तिले नागरिकता नपाउन भनेर हामीले सतर्कता अपनाएका छौं ।' उनले सबै प्रक्रिया पूरागरी आएका फाइललाई दर्ता गरी टोकन प्रणाली अन्तर्गत १५ दिनपछि नागरिकता दिने गरिएको बताए ।  
 
इलाका प्रशासन कार्यालय सुपौलीबाट गत चैत २५ यता आइतवारसम्म २० जनाले वंशजको आधारमा नागरिकता पाएका छन् । जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिन थालिएको हो । जिराभवानी, जगरनाथपुर, पटेर्वा सुगौली र ठोरी गाउँपालिकालाई हेर्ने गरी २०७५ पुस ११ गते स्थापना भएको इलाका प्रशासन कार्यालयमा गत शुक्रबारसम्मा ८० नागरिकता लिनेको फर्म दर्ता भएको जनाइएको छ । 

नागरिकता लिन आउनेहरूको बाबु र आमाले जन्मको आधारमा नागरिकता लिएको छ/छैन सो पुष्टी गर्न बाबु र आमाको नागरिकता जिल्ला प्रशासन कार्यालय पर्सामा पठाइने गरिन्छ र रुजु भई आएपछि मात्र नागरिकता दिने गरेको प्रशासकीय अधिकृत भण्डारीले बताए । इलाका प्रशासन कार्यालय सुपौलीबाट दैनिक एक सय भन्दा बढीले नागरिकताको लागि निवेदन दिने गरेकाले भीड बढ्दै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्