बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुंगा उत्खनन भइरहेको छ ।
मण्डपवा सामुदायिक वन क्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुंगा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ ।
अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति, जनप्रतिनिधि र स्थानीय प्रशासनसँगको मिलेमतोमा अवैध ढुंगा प्रयोग गरिरहेको स्थानीयवासीको भनाइ छ । मण्डपवा सामुदायिक वनक्षेत्रमा पर्ने चुरे पहाडबाट दैनिक करीब ३० ट्याक्टरको ट्रलीमा ढुंगा उत्खनन भइरहेको स्थानीयवासीले जानकारी दिएका छन् ।
एक ट्रलीमा करीब ४ घनमिटरसम्म ढुंगा ढुवानी हुँदै आएको छ । ठेकेदारले १ घनमिटरको अधिकतम १ हजार ५ सय रुपैयाँसम्म ट्याक्टर धनीलाई दिने गरेका छन् । जबकि अनुमतिप्राप्त मुगुवाखोलाबाट ढुंगा उठाउने हो भने १ घनमिटरको कम्तीमा ४ हजार रुपैयाँसम्म पर्न आउँछ । यसरी अवैधरूपमा ढुंगा उत्खनन भइरहँदा एकातिर वातावरणीय विनास भइरहेको छ भने अर्काेतिर तिर्नुपर्ने कर पनि छली भइरहेको छ ।
खल्लाझगडीयादेखि पिप्रहवासम्म राप्ती नदीमा बनिरहेको तटबन्धमा प्रयोग भएका र भइरहेको सबै ढुंगा चुरेबाट अवैधरुपमा उत्खनन गरिएको हो । आफ्नो वडामा पर्ने वन क्षेत्रबाट भइरहेको अवैध उत्खनन रोक्न पहल गरेपनि रोक्न नसकिएको वडा नम्बर ७ का अध्यक्ष रामलखन थारूले बताए । ‘सबैतिरको मिलेमतोका कारण ढुंगाको अवैध उत्खनन रोक्न सकिएको छैन,’ उनले भने ।
वडाध्यक्ष थारूले जिल्ला वन कार्यालय, स्थानीय प्रशासन, सामुदायिक वन लगायतको मिलेमतोमा अवैधरुपमा ढुंगा उत्खनन भइरहेको बताए । उनले भने, ‘मैले रोक्न खोज्दा सबैतिर सेटिङ मिलेको थाहा भयो । म एक्लैले गरेर नहुने देखियो ।’ वडाध्यक्ष थारूले अवैध काम हुन नदिउँभन्दा कतिपयले विकासविरोधी भनेर उल्टो आरोप लगाएको गुनासो गरे । उनले गाउँपालिकाले पनि अवैध ढुंगा उत्खनन रोक्न साथ नदिँदा समस्या भएको बताए ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले वडा कार्यालयको सिफारिश ल्याएमा आफूले ढुंगा उत्खननको अनुमति दिने बताएपछि अवैध ढुंगा उत्खननमा सक्रिय गिरोहले निरन्तर दबाब दिइरहेको वडाध्यक्ष थारूको भनाइ छ ।
‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत चुरे बचाऊ अभियान चलेको छ । हामीले ढुंगा उत्खननको अनुमति दिनै मिल्दैन,’ वडाध्यक्ष थारूले भने, ‘तर वन समितिका पदाधिकारी र राजनीतिक नेतृत्वले ढुंगा उत्खननका लागि अनावश्यक दबाब दिइरहेका छन् ।’
मण्डपवा सामुदायिक वनका अध्यक्ष हनिफ खाँले सबैतिर सेटिङ मिलाइसकेको भन्दै विरोध गर्ने स्थानीय र जनप्रतिनिधिलाई उल्टै हप्काउने गरेका वडाध्यक्ष थारूको गुनासो छ ।
अध्यक्ष खाँले आफूले प्रहरी र वन कर्मचारीलाई ५ लाख रुपैयाँ दिएर सेटिङ मिलाएको हाकाहाकी भन्ने गरेको पनि गाउँलेको भनाइ छ । राप्ती नदीमा तटबन्ध निर्माण गरिरहेको ठेकेदार कम्पनी कुमार श्रेष्ठ निर्माण सेवाले मण्डपवा सामुदायिक वन उपभोक्ता समितिलाई नगद दिने र अवैध उत्खनन गरिएका ढुंगा तटबन्धमा प्रयोग गर्ने सहमतिअनुसार नै चुरे उत्खनन भइरहेको गाउँलेको भनाइ छ ।