३१ जेठ २०८३, आइतबार

कर्णालीको राजधानीमा मनोमानी ढंगले भाडा असुल्दै अटो !

बैशाख २५, २०७६
कर्णालीको राजधानीमा मनोमानी ढंगले भाडा असुल्दै अटो !

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भाडामा मनोमानी बढ्दै गएको पाइएको छ । वीरेन्द्रनगरमा रहेका अटो चालकहरूले मनपरी रूपमा भाडा असुल्दै आएपनि सरोकारवाला निकाय मौन बसेको छ । सरोकारवाला निकाय मौन बस्दा चालकहरूले अटोमा चार जना भन्दा बढी यात्रु बोक्ने गरेको पाइएको छ भने ४ किलोमिटरको दुरी भएपनि पचास रुपैयाँ प्रतिव्यक्ति भाडा असुल गर्दै आइरहेको पाइएको हो ।

वीरेन्द्रनगरको वीरेन्द्रचौकबाट प्रदेश अस्पताल कालागाउँ जान अटो रिक्सामा मुस्किलले दश मिनेट लाग्छ । तर त्यसको भाडा अटो रिक्साले प्रति व्यक्ति ५० का दरले  भाडा असुल गरिरहेका छन् । ‘दश मिनेटको बाटोमा अटो रिक्साले पचास रुपैंया भाडा लिनु गलत हो,’ प्रदेश अस्पतालमा उपचार गर्न गएका दैलेखका नमराज बडुवालले भने, ‘यति मात्रै होइन, उनीहरू अटोमा पाँच जनासम्म बोक्ने गरेका छन् ।’ 

यता प्रदेश अस्पताल कालागाउँमा अटोरिक्साहरूको सिण्डिकेट कायम छ । अन्यत्रबाट अटो रिक्सा लिएर गएको खण्डमा त्यहाँबाट उक्त अटो रिक्साले यात्रु ल्याउन पाउँदैनन् । ‘यहाँ हामी बाहिरबाट आएका अटो चालकले प्रदेश अस्पतालबाट यात्रु ल्याउन पाउँदैनौं,' अटो चालक सुजन आचार्यले भने, ‘उनीहरूको सिण्डिकेट कायमै छ ।’ उनले प्रदेश अस्पताल जाँदा बढीमा ३० रुपैयाँको पेट्रोल खर्च हुने गरेको बताए । ‘प्रदेश अस्पताल जान बढिमा ३० रुपैयाँको पेट्रोल खर्च हुने गरेको मेरो अनुभव छ,' उनी भन्छन्, ‘पचास रुपैयाँ अलि बढी नै हो ।’

प्रदेश राजधानी रहेको वीरेन्द्रनगरको वडा नं. १६ जान चर्को भाडा तिर्नुपर्ने बाध्यता वडावासीको छ । ‘हामीले ३० किलोमिटर कच्ची सडकको यात्रा गर्दा ३ सय चालिस रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता छ,’ वडा नं. १६ का स्थानीय सीता ज्ञवालीले भनिन्, ‘नेपालगञ्ज जान २९० मात्रै लाग्छ । हाम्रा लागि नेपालगञ्ज जान सस्तो छ तर नगरपालिका जान महंगो भाडा तिर्नु परिरहेको छ ।’

सार्वजनिक बस नचलेपनि वीरेन्द्रनगर मेहली सडक खण्डमा ४ ओटा भन्दा बढी जीपहरू नियमित रूपमा चल्ने गरेका छन् । १२ जना यात्रु बोक्ने जीपहरूको भाडादर सुन्दा अधिकांश व्यक्ति छक्क पर्ने गरेको उनको भनाइ छ ।

‘हामीलाई भाडा महँगो भयो भन्दा व्यवसायीहरु सुन्दैनन्,’ उनी भन्छिन्, ‘हामी विकट बस्तीका जनताका समस्या कसले सुनिदेला र खोइ ?’ 

सिद्धपाइला यातायात सेवा प्रालिका अध्यक्ष पदम बनले भाडामा त्यस्तो गुनासो नआउको दाबी गरे । ‘नगरपालिकाले बनाउको कार्यविधि अनुसार हामी अघि बढिरहेका छौं,’ उनले भने, ‘नगरपालिकाले अटोमा चढ्यो कि २० रुपैयाँ तथा कच्ची सडकका हकमा प्रतिकिलोमिटर १० रुपैयाँ थप हुँदै जाने र पक्की सडक भएको खण्डमा पाँच रुपैयाँ थपेर भाडा असुल्ने गरेका छौं ।’ उनले प्रदेश अस्पताल जान मंगलगढी चोकबाट बढीमा ४० रुपैयाँ लिनुपर्नें बताए । ‘अधिकतम भाडा ४० रुपैंया हो । हामी एक दुइ दिनमा अनुगमन गर्छाैं,' उनले भने, ‘त्यसपछि हामी गल्ती भेटिएको खण्डमा कारवाही गर्छौं ।’ उनले क्षमता भन्दा बढी यात्रु नओसार्न चालकहरूलाई बारम्बार निर्देशन दिइसकिएको बताए । 

यता जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बुढा क्षेत्रीले नगरपालिकाले पारित गरेको कार्यविधि कार्यान्वयन गर्ने जिम्मा आफूहरूको भएको बताए ।

‘पहिले यातायात विभागमा दर्ता भएका कारण उनीहरू नगरपालिकामा दर्ता हुन आएका छैनन् । उनीहरूको म्याद असार मसान्तसम्म छ,’ उनले भने, ‘नगरपालिकामा साउनबाट सबै अटो दर्ता हुन्छन् र नगरले पारित गरेको कार्यविधि अक्षरसः पालना गराउन हामी लाग्नछौं ।’ उनले भाडामा मनपरी गरिरहेको स्वीकार समेत गरे । ‘तीन किलोमिटरको ८० रुपैयाँ लिएको भन्ने कुरा सुन्नमा आएको छ,’ उनले भने, ‘त्यस्तालाई हामी कारवाही गरिछाड्छौं ।’ तर त्यसका लागि आगामी साउन एक गते भने कुर्नैपर्ने बताए ।

‘हामीले अहिलेपनि जनगुनासारू सुन्दै र समस्या समाधानको पहल गर्दै आइरहेका छौं,’ उनले भने, ‘साउनदेखl लाइसेन्स, बिलबुकलगायत हामी हेर्छौं र कारवाही प्रक्रिया जोडदार रूपमा थालनी गर्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्