
काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र आयोगले विज्ञापन गर्ने बताए ।
कतिपय स्थानीय तहले आफैँ नयाँ शिक्षक नियुक्ति र सरुवा गरिरहेको सन्दर्भमा मन्त्री पोखरेलले शिक्षक सेवा आयोगको बाटोबाहेक अन्य तरिकाबाट शिक्षक नियुक्ति गर्दा व्यवस्थापन असहज हुने जनाए ।
मन्त्री पोखरलले आन्तरिक प्रतियोगितामा असफल भएका अस्थायी शिक्षकलाई यसै आर्थिक वर्षको सुविधासहित बिदा गरिने र अन्य शिक्षकलाई पटकपटक आन्तरिक परीक्षामा सहभागी गराउन नसकिने स्पष्ट गरे ।
आगामी आवका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षा सबलीकरण दशक घोषणा गरिएकाले आफूहरूको ध्यान सामुदायिक विद्यालयको गुणस्तर सुधारमा हुने प्रतिबद्धता व्यक्त गरे ।
उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ का आधारमा राष्ट्रिय शिक्षा नीति तर्जुमा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको जानकारी दिँदै नीति आएपछि सङ्घीय शिक्षा ऐन तर्जुमा गरिने जानकारी दिए । मन्त्री पोखरलले संसदीय समितिका सुझाव र निर्देशनलाई मन्त्रालयले ग्रहण गर्ने विश्वास व्यक्त गरे ।
विद्यालय शिक्षामा हस्तक्षेप गरेको स्थानीयको आरोप
तर, उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुखले आधारभूत र माध्यामिक तहसम्म शिक्षाको अधिकार स्थानीय तहको भए पनि सङ्घीय सरकारले त्यसमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
उपत्यका नगर फोरमको ललितपुरमा बसेको चौथो विस्तारित बैठकले स्थानीय सरकारको अधिकार कटौती गर्ने गठित ‘शिक्षा विकास तथा समन्वय एकाइ’ खारेजीको मागसमेत गरेको छ ।
बैठकको निर्णय सुनाउँदै मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दुवैले विद्यालय तहको पूर्ण अधिकार स्थानीय तहलाई दिएको बताए ।
उनका अनुसार स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमनसमेत स्थानीय तहको क्षेत्राधिकारमा पर्छ । शिक्षा विकास तथा समन्वय एकाइमार्फत सङ्घीय सरकार कानूनविपरीत सक्रिय भएको उनको आरोप छ ।
प्रमुख श्रेष्ठले स्थानीय सरकारको मागबमोजिम पठाएका कर्मचारीलाई मात्रै आ–आफ्नो नगरपालिकामा हाजिर गराई काम गराउने सर्वसम्मत निर्णय भएको जानकारी दिए ।
सुशासन समितिमा मन्त्री पण्डित
सङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका राष्ट्रसेवक कर्मचारीको वृत्ति विकासका लागि सम्पूर्ण ढोका खुला गरिने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलमा उनले समायोजनमा गएका कर्मचारीको सेवा निवृत्तिपछिका सम्पूर्ण जिम्मेवारीको सुनिश्चितता सङ्घीय सरकारले लिने स्पष्ट गरे ।
मन्त्री पण्डितले भने, “समायोजनमा गएका कर्मचारीको खाईपाई आएका सेवा सुविधामा घट्न दिने छैनौं । कैँची चलाएर असमान हुने गरी काम गर्दैनौँ, प्रदेश र स्थानीय तहमा थप वृत्ति विकासको अवसर प्राप्त हुनेछ । समायोजनमा गएकालाई मर्का नपर्ने गरी ऐनमा व्यवस्था गरिन लागिएको छ ।”
सङ्घीय निजामती, प्रदेश निजामती र स्थानीय सेवा सम्बन्धमा संविधानले नै फरकफरक व्यवस्था गरेको हुँदा एउटै निजामती ऐन बनाउन नमिल्ने उनले बताए ।
सोही मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले प्रदेश र स्थानीय तहका निजामतीलाई एउटै ऐन मातहत राख्दा सङ्घीयताको मर्म र भावना विपरीत हुने बताए ।
लुम्बिनीलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने
गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो ।
‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीको सम्पदाको संरक्षण र प्रवद्र्धन गरी आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले भ्रमण वर्ष अभियान ल्याइएको जानकारी दिए ।
पार्टी एकता एक कदम अगाडिः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै उहाँले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताए ।
‘‘आज मात्र हामीले पार्टी एकताको काम एक कदम अगाडि बढ्ने गरी गरेका छौँ’’, उनले भने, ‘‘पोलिटब्यूरो, जनवर्गीय सङ्गठनको एकता र केन्द्रीय सदस्यको कार्यविभाजनको केही दिनमा टुङ्ग्याएर हामी सार्वजनिक गर्दछौँ ।’’
अध्यक्ष दाहालले एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने पार्टी लागिपरेको समेत बताए ।
विद्युत् नियमन आयोगमा नियुक्ती
सरकारले ऊर्जा क्षेत्रको नियमन निकायका रूपमा रहेको विद्युत् नियमन आयोगलाई पूर्णता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका अध्यक्ष र चार सदस्यको नियुक्ति गरेको हो ।
आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त भएका छन् । सिंह विद्युत् विकास विभागको पूर्वमहानिर्देशक हुन् । त्यसैगरी सदस्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भगीरथी भट्टराई ज्ञवाली नियुक्त भएका छन् ।
गाई काटेको अभियोगमा प्रक्राउ
गाई काटेको अभियोगमा रामेछाप प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँको २९ वर्षीय सुजन खड्कालाई पक्राउ गरेको हो ।
गाई काटेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।
ओली भियतनाम र कम्बोडिया भ्रमणमा
प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार बिहान प्रस्थान गर्दै छन् । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन् ।
प्रमाणपत्र पेश गर्न म्याद
द्वन्द्वकालीन घटनाका मुद्दाको सत्यतथ्य पत्ता लगाउन खडा गरिएका दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिश गर्न गठित सिफारिश समितिले छुटेका प्रमाणपत्र पेस गर्न थप तीन दिन समय दिएको छ ।
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन दिएका आवेदकलाई छुटेका प्रमाणपत्र बुझाउन समितिले तीन दिनकोे समय दिएको हो । समितिले गत चैत २५ गते सात दिनको म्याद दिएर आवेदन आह्वान गरेको भएपनि पछि १० दिन थपेर गत वैशाख १७ गेतसम्मका लागि समय दिएको थियो । समितिले बुधबार सूचना नै जारी गरी उम्मेदवारका प्रमाणपत्र छुटेका उम्मेदवारलाई तीन दिनभित्र पेस गर्न भनेको थप समय दिएको हो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई आग्रह
काठमाडौँ महानगपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ ।
यही वैशाख मसान्तसम्म फाराम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो ।
१५ हजार चालकलाई प्रशिक्षण
ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३ मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण दिएको हो ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर काम गरिरहेको जानकारी दिए ।
गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीन महीने कार्ययोजना बनाएर विभिन्न काम गर्दै आएको छ ।
महाशाखाले सुकेधारामा दुई, गौशालाचोकमा तीन, धुम्बाराहीमा एक, चप्पल कारखानामा एक, शङ्कपार्कमा एक, स्टार अस्पतालमा एक र धोविघाटका दुई स्थानमा जेब्राक्रसिङ निर्माण, चावहिल र सुकेधारामा स्टपलाइन निर्माण, चावहिलदेखि सुकेधारासम्म र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जदेखि बालुवाटारसम्म सेन्टर लाइन निर्माण गरेको छ ।
यसैगरी, बालकुमार पुल, गोपीकृष्ण पुल, नयाँ बसपार्क पुल, हनुमानस्थान पुलको करिडोर निर्माण, कोटेश्वरदेखि गौशाला, खानी विभागदेखि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, रातोपुलदेखि गौशालाचोक, थापाथलीदेखि सोल्टीमोडलगायतका क्षेत्रको फुटपाथसमेत व्यवस्थापन गरेको छ ।
महाशाखाले उपत्यकामा सञ्चालित ८८३ सवारी साधनलाई प्रदूषण जाँचमा असफल भएको भन्दै कारवाही समेत गरेको छ । ट्राफिक प्रहरीले उपत्यकामा थोरै जनशक्ति भए पनि उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन विभिन्न निकायसँग सहकार्य गरेर काम गरिरहेको छ ।
साँघुरो बाटो र धेरै सवारी साधन उपत्यकामा भित्रिँदा दिनानुदिन ट्राफिक चापसमेत हुने गरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर सञ्चालनमा रहेका ३२ लाख सवारी साधनमध्ये छन् काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन गुडिरहेका छन् ।
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यही ‘मे’ महीना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताए ।
तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले तातोपानी नाकामा अब थोक व्यापार बढी हुने उल्लेख गरे ।