
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको संशोधित विधानले पार्टीलाई थप सशक्त बनाउने बताएका छन् ।
नेपाली कांग्रेसले बुधवारदेखि शुरू गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीवार पोखरामा आयोजित कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा उनले विधानले समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई थप प्रभावकारी बनाएको स्पष्ट पारे ।
महामन्त्री खड्काले विधानलाई कार्यकर्ताको भावनाअनुरूप आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने बताउँदै राज्यको परिवर्तित संरचना, संविधानको भावना एवम् मर्मलाई विधानले आत्मसात् गरेको उल्लेख गरे ।
सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको बताउँदै उनले लोकतन्त्रको रक्षा र विद्यमान विकृति–विसङ्गतिको अन्त्यका लागि पार्टीको आन्तरिक एकता मजबुत बन्नु अपरिहार्य भएको धारणा व्यक्त गरे ।
अभियानअन्तर्गत महामन्त्री खड्काले आजै पोखरा महानगरपालिका–३३ स्थित भरतपोखरीको मालागिरि, बरपौवा, कालिकास्थान, मादी गाउँपालिकाका साथै दूधपोखरी समाज माटेपानी, नेपाली कांग्रेस कास्कीको कार्यालय परिसर लगायतका स्थानमा कार्यकर्ता भेटघाट गरी अन्तरक्रिया गरे ।