
काठमाडौं - फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ ।
मजदुरको कथामा बनेको चलचित्रलाई आर बि. खत्री ‘शरद’ ले निर्देशन गरेका हुन । चलचित्रमा निर्देशककै कथा छ । चलचित्रमा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवि गिरी, धु्रव कोइराला, सरोज अर्याल, शारदा गिरी, जयनन्द लामा, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्रायः देख्न पाइन्न । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने निर्देशक खत्री बताउँछन् ।
शान्ता ढकाल निर्माता रहेको चलचित्रमा संजय महतो कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।