
रूपन्देही –भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रूपन्देहीको ककरहवा नाका बन्द भएको छ ।
नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन ।
“केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन”, प्रमुख जिल्ला अधिकारी रानाले भने । करीब १५ दिनअघि रूपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो ।
भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा निर्वाचन हुँदैछ । भारतको सो जिल्लासँग रूपन्देहीको ककरहवा नाका जोडिएको छ ।
त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द हुने बताइएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ ।