
बुटवल- तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा बाल रेल सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाको सहयोगमा रोटरी क्लब अफ बुटवलको अगुवाईमा वनवाटिकामा बाल रेल सञ्चालनमा आएको हो ।
रेलको शुक्रबार आयोजित एक कार्यक्रमबीच रोटरी क्लवका डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराई र तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे । मुलुकमा पूर्व—पश्चिम रेल निर्माणको चर्चा चलिरहँदा वनवाटिकामा बाल रेल सञ्चालनमा आएको हो । बाल रेल सञ्चालनले वनवाटिकाको आकर्षण बढ्न गई यहाँ आउने पर्यटकको संख्यामा वृद्धि हुने तिलोत्तमा नगर प्रमुख घिमिरेले बताए ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले स्थानीय सरकार तथा वनवाटिकाको उत्साहका कारण बाल रेल सञ्चालनमा आउन संभव भएको जानकारी दिँदै यसलाई थप व्यवस्थित बनाइने बताए । एक करोडको रेल परियोजना सञ्चालनमा ल्याउन रोटरी क्लवको ४५ लाख रुपैंयाँ खर्च भैसकेको जानकारी उनले दिए ।
कार्यक्रममा रोटरी इन्टरनेशनल नेपाल भुटानका गर्भनर चिन्तामणि भट्टराई र तिलोत्तमा नगरपलिकाका प्रमुख बासुदेव घिमिरेले वनवाटिकाका अध्यक्ष बाबुराम अर्याललाई परियोजनाको साचो हस्तान्तरण गरे ।