
काठमाडौं- वैशाख शुक्ल सप्तमी सत्य युगमा आजैका दिन गङ्गा उत्पत्ति भएको पौराणिक कथन छ । वैदिक सनातन परम्पराअनुसार सबै नदीलाई गङ्गाकै रूपमा लिइन्छ ।
बागमतीको महत्व गङ्गाको भन्दा पनि उच्च रहेको शास्त्रमा वर्णन गरिएको छ । भारत वर्षका धेरै नदीमा स्नान गर्दा पनि हत्या मोचन हुन नसकेपछि पर्शुरामले बागमती किनारमै स्नान गरेर पाप काटेको विश्वास छ । भगीरथले कूल उद्धारका लागि स्वर्गबाट गङ्गालाई वैशाख शुक्ल सप्तमीकै दिन झार्न सफल भएको कथा पुराणमा वर्णन गरिएको छ । यसैले गङ्गालाई भागीरथी पनि भनिन्छ ।
संयोगले वैशाख शुक्ल सप्तमीकै दिन शनिबार परेकाले उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।
बागमती सफाइ महाभियानको ३१३ औं हप्तामा सिनामङ्गल फलामे पुल क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १५ संस्थाको सक्रियता थियो । सफाइमा ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।
सफाइमा पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, अधिकार सम्पन्न बागमतीका आयोजना प्रमुख आशिष घिमिरेलगायत अभियानकर्मी पनि सहभागी भएका थिए । स्थानीयवासीले घर अगाडि फोहर फालेको पाइएपछि काठमाडौं महानगरपालिकाले तीन जनालाई कारवाही गरेको छ । कारवाहीका क्रममा वादविवाद गर्न आउनेलाई प्रहरीको जिम्मा लगाइएको अभियानकर्मी खरेलले बताए ।
बागमतीको तिलगङ्गा क्षेत्रको २१४ औं हप्ताको सफाइ पनि आज सिनामङ्गल फलामे पुल क्षेत्रमै गरियो । सफाइमा महानगरपालिका–८ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको पनि सक्रियतामा थियो । जनचेतनामूलक सफाइका क्रममा फोहर र प्लाष्टिक नजलाऔं भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिइन् । सो अवसरमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको थियो ।
यसैगरी गुह्येश्वरीमाथिको बागमती सफाइको २७४ औं हप्तामा गोकर्णेश्वर नगरपालिका–७ स्थित माकालबारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा २०० भन्दा धेरै अभियानकर्मीको सहभागिता थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि भक्तपुरतर्फ लगेको पाइप जडान गर्दा अधिकार सम्पन्न बागमतीले बिच्छ्याएको ढल खनी बागमती नदीमा मिसिइ प्रदूषण फैलिएकामा आज त्यसलाई व्यवस्थापन गरिएको बागमती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । आज यस क्षेत्रको सफाइ कार्यक्रमबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
रुद्रमती सफाइ अभियानको २६८ औं हप्तामा रातोपुल–मैतीदेवी–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौं महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्य मनोज डङ्गोलसहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
सफाइमा नेपाल प्रहरी, नगर प्रहरीलगायत स्थानीयवासीको सक्रियता थियो । ३ नं प्रदेशको बजेटमा रातोपुल र कालोपुलको बीचमा मानिस हिँड्नका लागि फलामे पुल निर्माण गरिने जानकारी पनि सो अवसरमा दिइयो । ५० लाखको लागतमा दुई पुल निर्माण गरिने जनाइएको छ ।
विष्णुमती सफाइको २४० औं हप्तामा तारकेश्वर नगरपालिका–१० नमूना नगर र टोखा नगरपालिका–९ सिद्धेश्वर टोल क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेयले जानकारी दिए । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
नेपाली सेनाले पनि सफाइमा सहयोग गरेको थियो । विनायक सरसफाइ प्रालिले सङ्कलन भएको फोहर उठाउन सहयोग गरेको जनाइएको छ । सुन्दरीघाटस्थित बागमती नदी किनारमा १२३ औं हप्ताको सफाइ गरियो । १२० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए ।
मनोहरा नदी सफाइको ११२ औं हप्तामा काठमाडौं महानगरपालिका–३२ स्थित शान्ति टोल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकारी दिए । सफाइमा सुरक्षा निकाय, सञ्जय साई अर्गनाइजेसन, स्थानीय टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
चक्रपथ सफाइ अभियानको १०९ औं हप्तामा नयाँ बसपार्क क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिए । २५० भन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइमा सुरक्षा निकायको पनि सक्रियता थियो । सो अवसरमा घरदैलो गरी कुहिने फोहर सडकमा नफाल्न आह्वान गरिएको थियो ।
चक्रपथ बाफल खण्ड सफाइको ९१ औं हप्तामा सीतापाइला चोकबाट कलंकीसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तीनै सुरक्षा निकायका साथै अभियानकर्मी गरी सफाइमा २०० भन्दा बढीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए ।
सफाइमा सांसद जीवनराम श्रेष्ठसमेत सहभागी भएका थिए । सो अवसरमा सडक र नदीमा फोहर नफालौं कुहिने घर घरमै व्यवस्थापन गरौं, नकुहिने जति महानगरपालिका एवं नगरपालिकाले तोकेको स्थानमा राखौँ भन्दै घर दैलो जनचेतनामूलक अभियान गरिएको थियो ।
विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान शुरू भएपछि देशभर सफाइ अभियानको जागरण आएको हो । बागमती लगायत नदी सफाइ अभियान महत्वपूर्ण चाड पर्वमा पनि रोकिएको छैन । महाअभियान शुरू भएको पाँच वर्षसम्ममा पनि ठोस रूपमा काम हुन सकेको छैन ।
बागमतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०४ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । नयाँ वर्षदेखि पूर्वको मेची पुलबाट शुरु भएको मेची महाकाली सफाइ अभियान अज इटहरी आइपुगेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सफा नेपाल अभियान शुरू गरिएको हो । यसअन्तर्गत हालसम्म २८ स्थानमा सफाइ भइसकेको अभियानकर्मीले जनाएका छन् । आज धनगढी उपमहानगरपालिका क्षेत्रमा पनि सफाइ गरिएको थियो । –पूर्णप्रसाद मिश्र/रासस