०३ साउन २०८३, आइतबार

नेपाली भाषाको संरक्षणमा कर्णाली प्रदेशको ध्यान, ठेट खस भाषाको पाठ्यक्रम ल्याउने तयारी

मुख्यमन्त्री भन्छन्- नेपाली भाषा प्रयोग नगर्नेविरुद्ध मुद्दा हाल्ने परिपाटी विकास हुनु जरुरी छ !
बैशाख २९, २०७६
नेपाली भाषाको संरक्षणमा कर्णाली प्रदेशको ध्यान, ठेट खस भाषाको पाठ्यक्रम ल्याउने तयारी

सुर्खेत – नेपाली भाषाको उद्गम स्थल कर्णालीमा प्रदेश सरकारले ठेट खस भाषाको पाठ्यक्रम बनाउने तयारी गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लोकान्तरसँग कुराकानी गर्दै खस भाषाको पठयक्रम बनाई लागू गर्नुपर्ने परिस्थिति आइसकेको बताएका हुन् ।

‘अहिले सबैभन्दा ठूलो समस्यामा नेपाली भाषा पर्न गएको छ,’  उनले भने, ‘जबसम्म खस भाषाको उत्थान गर्न र प्रयोगमा ल्याउन सकिँदैन, तबसम्म नेपाली भाषामाथि विभिन्न स्थानबाट आक्रमण भइरहने छ । यसका लागि सरकारले एक समिति नै बनाई पाठ्यक्रम बनाउने गरी कदम चाल्छ ।’

सबैले अंग्रेजी भाषालाई प्राथमिकता दिँदा नेपाली भाषा चपेटामा परेको उनको भनाइ छ । ‘अहिले अंग्रेजी भाषालाई सबैले प्राथमिकता दिइरहेको पाइएको छ,’ उनले भने, ‘सरकारी कामकाजको भाषा नेपाली भनिएपनि व्यवहारमा त्यो लागू हुन सकेको छैन ।’

मुख्यमन्त्री शाहीले होटलहरूमा पनि अंग्रेजी भाषामा नै मेन्यू राख्ने गरेको उदाहरण दिँदै नेपाली भाषामाथि अतिक्रमण भइरहेको अर्थ्याए ।

‘कम्तिमा हामी नेपालीहरू बस्ने होटलमा नेपालीमै मेन्यु राख्न लगाऔं । विभिन्न आयोजना वा कुनै प्रस्ताव भए नेपालीमा नै लेख्ने बानीको विकास गरौं,’ उनी भन्छन्, ‘जबसम्म नेपालीले आफ्नो भाषाको सुरक्षा तथा सम्वर्द्धन गर्न सक्दैनन् तबसम्म नेपाली भाषा नै लोप हुँदै जाने मेरो शंका हो ।’

अहिले सदनमा, न्यायालयमा तथा अन्यत्र पनि अंग्रेजी भाषाको प्रयोग भइरहेको बताए । ‘जहाँ पनि अंग्रेजी भाषाको प्रभाव बढ्दै गएको छ, छोराछोरीलाई बोर्डिंगमा अंग्रेजी भाषाकै लोभमा अध्यापन गराइन्छ,' उनले भने ।

मुख्यमन्त्री शाहीले विदेशी छाडा संस्कृति नेपालमा हावी भएको बताउँदै आफ्नै मौलिक कला र साहित्यको रक्षा गर्न सबै लागि पर्नुपर्ने बताए ।

‘कुनै एक अमूक व्यक्तिले मात्रै कला साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्न सक्दैन, त्यसकालागि सबै पक्षको दीर्घकालीन सहकार्य आवश्यक पर्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अब नीति तथा कार्यक्रम बनाउँदा कला, साहित्य तथा खस भाषाको संरक्षणका लागि खास कार्यक्रम ल्याउँछौं र कर्णालीमा नेपाली भाषाको प्रयोग गर्ने वातावरणका लागि आवश्यक काम गर्छौं ।’

उनले जो कोहीले पनि नेपाली भाषा प्रयोग नगरेको खण्डमा मुद्दा हाल्ने परिपाटीको विकास गर्न जरुरी भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्