
काठमाडौं– नेकपा सांसद देवेन्द्र पौडेलले संविधानले प्रत्याभूत गरेका मौकिल हक कार्यान्यवन हुने गरी बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । चुनावका बेला गरिएका प्रतिबद्धता अनुसार नयाँ बजेट ल्याउनुपर्ने उनले बताए ।
प्रतिनिधि सभामा आइतवार आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्वबजेट) छलफलमा भाग लिँदै नेकपा नेता पौडेलले जनताले प्रष्ट अनुभूत गर्नेगरी बजेट ल्याउन सुझाव दिएका हुन् ।
‘अर्थमन्त्रीले गतवर्ष देशको अर्थतन्त्रबारे श्वेतपत्र प्रस्तुत गर्दा निराश भएका थियौं, अहिले व्यापार घाटा बाहेकका अधिकाशं आर्थिक सूचक सकारात्मक भएको पढ्न पाउँदा खुशी लागेको छ,’ उनले भने ।
नेता पौडेलले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन तथा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्नका लागि बजेटको आकार बढाउन सुझाव दिए ।
‘अहिले १५ खर्बको बजेट ल्याउने चर्चा छ । आर्थिक वृद्धिको लक्ष्य अनुसार बजेटको सिलिङ बढाएर २० खर्ब बनाइयोस्,’ पौडेलले भने । उनले उच्चस्तरीय संयन्त्र बनाएर लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त गरेका लगानीकर्तालाई प्रोत्साहनको व्यवस्था गर्न सुझाव दिए ।
‘जटिल कानूनी झन्झटले गर्दा लगानीकर्ता निराश हुने वातावरण नबनोस्,’ उनले भने, ‘विदेशमा रहेका ४३ लाख नेपालीले सानो अंश नेपालमा लगानी गर्न चाहन्छन्, तिनीहरूलाई सरकारले लगानीको वातावरण बनाओस् ।’
नेता पौडेलले देशको अर्थतन्त्र नडुब्ने गरी एशियाली विकास बैंक र विश्व बैंकबाट सफ्ट लोन ल्याएर भएपनि आर्थिक विकासमा फड्को मार्न प्रस्ताव गरे ।