
काठमाडौं – ‘सोझा जनता सफा मन, कालोपत्र हुने कहिले भन’, ‘समय हेर्यौं पटक–पटक, हट्दैनौं हामी यो पटक’, धुवाँ–धुलो अति भो, ठेक्का भ’को कति भो ?’
यी नारा लेखिएका व्यानर ठेंचोदेखि टाखेलसम्मको सडक खण्डका विभिन्न ठाउँमा टाँसिएका छन् ।
सडकमा खाल्डो भएर पानी जमेको ठाउँमा ‘माछापालन’ वैशाखमै ‘रोपाइ कार्यक्रम’ र सडकको खाल्डोमा माछा समेत राखेर विरोध गरिरहेका छन् ।
कान्ति राजपथ अन्तर्गतको गोदावरी नगरपालिका ठेचो, चापागाउँ, टाखेल, ढोलाहीटी लगायतका सडकखण्डमा स्थानीयले विरोध गरिरहेका छन् ।
सडकमा धुलो र धुवाँले आफूहरू आजित भएको र जतिसक्दो छिटो पिच गर्नुपर्ने माग राख्दै स्थानीयले स्वस्फूर्तरुपमा सडक बन्द गराएको चापागाउँ नगरपालिका–११ का स्थानीय कृष्णकुमार केसीले लोकान्तरलाई बताए ।
गोदावरी नगरपालिका र सडक विभागमा पनि सडक कालोपत्रे गर्नुपर्ने र सडकको धुलो र धुवाँको व्यवस्थापन गर्नको लागि टोली गएपनि हालसम्म कुनै सुनुवाइ नभएकाले सडकमा ओर्लनुपरेको चापागाउँका स्थानीय राम महर्जनले आक्रोश पोखे ।

गोदावरीका मेयर गजेन्द्र महर्जनसँग सडकबारे बुझ्न जाँदा उनले ‘पम्फा भुसाल र राजकाजीसँग बुझ्न जानुस्’ भन्ने जवाफ आएपछि पम्फा भुसालसँग कुरा राख्दा ‘२ महिनामा पिच हुन्छ’ भनेपनि ६ महिनासम्म कालोपत्रे नहुँदा बाध्य भएर आन्दोलनमा उत्रिएको महर्जनले बताए । ३ वर्षदेखि सडकखण्ड भएर हिँड्ने जनताले धुलो र धुवाँको समस्या भोग्नुपरेको छ । सडकलाई चुनावको बेलामा नेताहरूले चुनावी एजेन्डा समेत बनाएका थिए ।

स्थानीय महर्जनले भने, ‘नेताहरूले चुनावमा आफ्नो एजेन्डा बनाएर भोट मागे, अहिले वास्ता नै गर्दैनन् ।’ शुक्रवार र शनिवार बिहान ८ बजेदेखि ९ बजेसम्म र सोमवार बिहानदेखि बेलुका ५ बजेसम्म यातायातका साधन र पसल समेत बन्द गरी आन्दोलमा उत्रेको गोदावरीका आन्दोलन अगुवा विष्णु नकर्मीले लोकान्तरलाई बताए । नकर्मीले भने, ‘सडकको धुलो, धुवाँको र हिलो व्यवस्थापन नगरेसम्म हामीले आन्दोलन जारी राख्छौं ।’

ढोलाहिटी–चापागाउँ–टाखेल–लेले सडक खण्डमा सडकको बीचमा ठूला–ठूला खाल्डो छन् । सडकमा पानी परेको अवस्थामा हिलो र घाम लागेको अवस्थामा धुलो र धुवाँले स्थानीय आजित छन् ।
संघीय संसदमा समय–समयमा धुलोको विषयमा सासंदले आवाज उठाउँदै आएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो–धुँवा र हिलोले जनता पीडित नभएको आशय व्यक्त गर्दै आएका छन् ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सासंद नवराज शिलवालले चुनावी सभामा बोल्दै भनेका थिए, ‘यसअघिको सरकार सिंहदरवारमा मात्र बसेको छ, हामी जनताको घरघरमा जान्छौं ।’ ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ की सासंद पम्फा भुसालले जाउलाखेलको सभालाई सम्बोधन गर्ने क्रममा ‘जनतालाई प्रत्यक्ष प्रभाव पर्ने काम गर्नेछु’ भनेकी थिइन् ।
उनीहरूकै निर्वाचन क्षेत्रमा पर्ने स्थानीय जनता हाल धुलो, धुँवा र हिलो व्यवस्थापन गर्नुपर्ने भन्दै आन्दोलमा उत्रेका छन् ।








