१३ असार २०८३, शनिबार

सहकारीको अर्को ठगी, २४ करोड कुम्ल्याएर मुख्य सञ्चालक फरार

बैशाख ३१, २०७६
सहकारीको अर्को ठगी, २४ करोड कुम्ल्याएर मुख्य सञ्चालक फरार

काठमाडौँ –बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् ।

साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए । पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम फसेको छ ।

सहकारीका सञ्चालकले ब्याज त परै जाओस् साँवासमेत फिर्ता दिन आलटाल गरेपछि निक्षेपकर्ताहरू रकम फिर्ताका लागि दौडधुपमा थिए । गत पुस १५ मा वडा नम्बर ५ का अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी र पीडितबीच बूढानीलकण्ठस्थित प्रहरी इकाईमा छलफलसमेत भएको थियो ।

वडाध्यक्ष तामाङका अनुसार उक्त छलफलमा सहकारीले ४५ दिनभित्र सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौता गरेको थियो । कागजी भाका सकिएपछि पनि सहकारी सञ्चालकहरू सम्पर्कमा नआएपछि पीडितहरूले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् ।

पीडितहरूका अनुसार फसेको रकम उठाउने नाममा टाठाबाठा पीडितहरूले भित्रभित्रै कुरा मिलाउन र आफ्नो मात्रै पैसा उठाउन लागिपरेका थिए । २०६५ पछि सानु ठकुरीको अध्यक्षतामा सञ्चालनमा आएको सहकारीले सात वर्षयता वार्षिक लेखापरीक्षण पनि नगरेको वडाध्यक्ष तामाङले बताए । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

कमेन्ट गर्नुहोस्