
काठमाडौं–अबको करिब तीन वर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद भवन निर्माण गर्नेगरी डिजाइनलाई अन्तिम दिने काम भइरहेको आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद सञ्चालन हुँदै आएको छ ।
सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले सिंहदरबारमा निर्माण हुने प्रस्तावित संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको जानकारी दिए ।
मुलुकको भवन निर्माणको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो अयोजनाको रुपमा रहेको यो संसद परिसरको कूल निर्माण लागत करिब १० अर्ब रुपियाँ हुने जनाइएको छ । संसद परिसर निर्माणका लागि वजेट र स्रोतको अभाव नहुने मन्त्रालयका प्रवक्ता दवाडीले बताए ।
प्रस्तावित संसद् परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ । साथै करिब तीन सयजना अटने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ । परिसर भवनमा तीनतल्ले पार्किङ समेत निर्माण गरिने छ ।
छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू र त्यसमा उपस्थित हुनुपर्ने विशिष्ट महानुभावहरू समेत अटाउने खालको एउटा हल समेत निर्माण गरिने जानकारी उनले जानकारी िदए ।
परिसरमा भीभीआइपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्धार निर्माण हुने बताईएको छ । त्यसैगरी, संसद परिसरमा बगैँचा र चौर समेत हुने जनाइएको छ ।