
बुटवल- रुपन्देहीको नेपाल भारत सीमा नाका शंकरपुरमा विहीबार गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेको भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबीलाई प्रहरीले पक्राउ गर्न खोज्दा गोली चलेको हो ।
धोबीलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
आक्रमणमा परी नेपाली तीन जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेमा प्रहरीमा तेजबहादुर कुँवर, प्रेमबहादुर आले र विक्रम मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रहरीले धोबीको साथबाट एउटा 'अटोमेटिक पेस्तोल' बरामद गरेको छ । हतियार लिएर आउने धोबी प्रहरीको गोली लागेको घाइते भएको छ । घाइते धोबीलाई भारतीय पक्षले नै उठाएर लगेका छन् ।
भण्डारीले भने, ‘अतियार सहित नेपाल प्रवेश गर्न खोज्नेलाई पक्राउ गर्न खोज्दा उसले गुहार मागेपछि नेपाल सीमा क्षेत्रमा भारतीयहरु प्रवेश गरी प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो ।’