२९ असार २०८३, सोमबार

घरघरमा सुरक्षित वैदेशिक रोजगारबारे पम्प्लेट

घरघरमा सुरक्षित वैदेशिक रोजगारबारे पम्प्लेट

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले घरघरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट टाँसेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उद्देश्यले ७ नम्बर वडास्थित दोर्पाचिउरीडाँडाका सम्पूर्ण घरमा सन्देश उल्लेखित पोस्टर टाँसिएको हो ।

पोस्टरमा सकेसम्म स्वदेशमै रोजगारी गरौं, यदि विदेश जाने नै भए सही सूचना र सीप लिएर मात्र जाऔं’ भन्ने सूचनासहितको सामग्री ६१० घरको भित्ताभित्तामा टाँसिएको छ । वडाबाट परिचालित स्वयंसेवक मानबहादुर भुजेलका अनुसार सन्देशमूलक सामग्रीमा वैदेशिक रोजगारमा जान तयार युवाका लागि आवश्यक पर्ने सूचना तथा जानकारी पनि दिइएको छ ।

सन्देश सामग्रीमा सीप तालिमको महत्व, आवश्यक कागजपत्र, सुरक्षा, भर्पाइ तथा प्रमाण, पुनः श्रम स्वीकृति, नेपालकै विमानस्थल प्रयोग गर्न र अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्थाको बारेमा जानकारी गराइएको छ । यसबाहेक अन्य प्राविधिकलगायत जानकारीमूलक सूचना तथा सन्देशसमेत उक्त पर्चामा उल्लेख गरिएको छ । 

वडा कार्यालयको यस्तो गतिविधिले वैदेशिक रोजगारीमा जाने युवा सुरक्षित हुन मद्दत पुर्‍याउने आप्रवासी स्रोत (सूचना) केन्द्र दिक्तेल शाखाले जनाएको छ । यस्ता सूचना तथा सन्देश  जिल्लाका सबै स्थानीय तहका सबै वडाले प्रयोगमा ल्याउनु  आवश्यक देखिएको ऊक्त केन्द्रका कार्यत्रम संयोजक ओजोनबाबु आचार्यले बताए ।

हरेक घरमा यस्तो सूचना पुर्‍याइएपछि परिवारका सदस्य तथा आफन्तले कम्तीमा पनि उक्त सूचना आफैं हेर्ने वा सुन्ने  र प्रयोगमा ल्याउने हुनाले यसले वैदेशिक रोजगारमा जाने युवालाई सुरक्षित बनाउने उनको भनाइ थियो । 

यसैबीच खोटाङस्थित केपीलासगढी गाउँपालिकाले वैदेशिक रोजगारीसम्बन्धी प्रोफाइल निर्माण गर्न लागेको गरेको छ । गाउँपालिकाभित्र वैदेशिक रोजगारको अवस्थासम्बन्धी सम्पूर्ण जानकारी समेटी त्यसलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले प्रोफाइल निर्माण गर्न लागिएको बताइएको छ । त्यसका लागि गाउँपालिकाभित्र रहेका सातै वडामा एकैसाथ तथ्यांक संकलन शुरू गरिएको र  सोही तथ्यांकको आधारमा प्रोफाइल तयार गरिने कार्यक्रम संयोजक आचार्यले बताए ।

salt training

कमेन्ट गर्नुहोस्