
काठमाडौं – लोकसभा चुनावको परिणाम आउनुअघि आन्ध्र प्रदेशका मुख्यमन्त्री तथा एन चन्द्रबाबु नायडुले भारतीय जनता पार्टीको विरोधी मोर्चा बनाउने प्रयास बढाएका छन् ।
नायडुले लगातार आइतवार दोस्रो दिन कांग्रेस अध्यक्ष राहुल गान्धी र शरद पवारसँग भेटघाट गरे ।
उनले शनिवार दिल्लीमा राहुल र पवारबाहेक अरविन्द केजरीवाल, भाकपा नेता सुधाकर रेड्डी र डी राजालाई भेटेका थिए । अनि साँझ लखनउ पुगेर उनले मायावती र अखिलेश यादवलाई पनि भेटे ।
नायडु केही महिना अघिसम्म पनि एनडीएका एक अंग थिए । तर आन्ध्रलाई विशेष राज्यको दर्जा नदिइएपछि रिसाएर उनले खेमा परित्याग गरेका थिए । अहिले उनी भाजपाविरोधी सबै दलहरूलाई एक ठाउँमा ल्याउने कोशिश गरिरहेका छन् । यसका लागि उनले तृणमूल पार्टी प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र माकपाका महासचिव सीताराम येचुरीसँग पनि भेटघाट गरे ।
नायडुले राहुल गान्धीलाई चुनाव परिणामका लागि रणनीतिक रूपमा तयार हुन भनेको राजनीतिक सूत्रहरूले बताएका छन् । भाजपा बहुमतबाट चुकेमा सरकार बनाउनका लागि बलियो दाबी पेश गर्ने तयारी पहिले नै गर्नुपर्ने उनको भनाइ छ ।
यूपीएकी अध्यक्ष सोनिया गान्धीले जेठ ९ गते एनडीएविरोधी दलहरूको बैठक डाकेकी छन् । पार्टी सूत्रहरूका अनुसार, भाजपाले यसपालि बहुमत नल्याउने कांग्रेसको आँकलन छ । त्यसैले यूपीए प्रमुखले सेक्युलर पार्टीहरूका नेतालाई निमन्त्रण पठाएका छन् । शरद पवार, एमके स्टालिन अनि राजद र टीएमसीका नेतालाई पनि निमन्त्रण पठाइएको छ ।
एजेन्सी