
काठमाडौं– तपाईंले ट्राफिक नियम उल्लंघन गरेर सडकमै झन्झट बेहोर्नुपरेको छ ? पक्कै पनि जरिवानास्वरूप ट्राफिकले चिट काटेपछि तपाईंले बैकमा गएर पैसा बुझाउनु परेको छ । तर अब भने त्यो झन्झटबाट तपाईं मुक्त हुने अवस्था आउँदैछ ।
ट्राफिकले अब ई–चलान र अनलाइन पेमेन्टमार्फत सडकबाटै जरिवाना रकम लिने व्यवस्था लागू गर्ने भएको छ ।
‘सडकमा अब ट्राफिक प्रहरीले ट्याबलेट लिएर बस्नेछन् । कारवाहीमा परेका जरिवाना अनलाइन पेमेन्ट मार्फत तुरुन्तै तिर्न सकिनेछ,’ महानगरीय ट्राफिक महाशाखका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्तकुमार पन्तले आइतवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।
ट्राफिकलाई आधुनिक बनाउने अभियान अन्तर्गत अहिले सीसीटीभी, सर्भिलेन्स भेइकल, गोप्रो क्यामेरा, ब्रेथलाइजर लगायतका सामानहरू प्रयोग गर्दै आएको छ । अब अझ ट्राफिकलाई स्मार्ट बनाउनको लागि यो आर्थिक वर्ष भित्रमा ट्याबलेटमार्फत 'स्मार्ट पेमेन्ट' ल्याउन लागेको हो ।
ट्राफिक प्रहरीले अब मोबाइल एप मार्फत ट्राफिक जाम, पार्किङको अवस्था, भीआईपी सवारी, आन्दोलनजस्ता सूचनाहरू उक्त एप्सले दिने छ । यसको लागि सबै प्रक्रियाअघि बढाइसकेको एसएसपी पन्तले बताए ।
‘तपाईंहरूलाई उपत्यकामा हुने जाम, पार्किङ लगायतका सबै सूचनाहरू उक्त एप्सले दिने छ । यसको लागि हामीले ७ लाख रुपैयाँ पनि दिइसकेका छौं । अब छिट्टै एप्स लन्च गर्नेछौं ।’ एसएसपी पन्तले बताए ।