
धनगढी- विशेष गरेर थारू जातिमा मात्र देखिँदै आएको 'सिकलसेल एनिमिया' थारू समुदायको मात्रै नभई समग्र सबै समुदायको साझा शत्रुका रूपमा रहेको 'सिकलसेल एनिमिया' रोकथामका लागि जनचेतनामुलक अभिमुखीकरणको उद्घाटनसत्रका सहभागीले बताएका छन् ।
धनगढी उप–महानगरपालिका १५ मा मंगलबार सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा पहाडी समुदायमा समेत सिकलसेलका बिरामी देखिएको जानकारी प्राप्त भएको सहभागीहरूले बताएका हुन् । यो रोगका विरुद्धमा सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले औंल्याए ।
‘रोगबाट थारु समुदायका व्यक्ति बढी प्रभावित छन्,' वडले भने,' 'तर यो होइन कि, अरु समुदायका व्यक्तिमा लाग्दैन । थारु समुदायमा बंशाणुगत गुणले देखिँदै आएको छ । तर अन्य समुदायले ढुक्क भएर बस्ने अबस्था छैन ।’
सिकलसेल बहुअंगमा समस्या गर्ने रोग हो । पीडितमा पटक–पटक समस्या बल्झिरहन्छ । यो रोगका बिरामीहरुलाई एउटा प्रशव वेदनाको महिलाको भन्दा कैयौं गुणा बढी हाडजोर्नीको दुखाई हुने चिकित्सकको भनाइ छ ।
कैलालीका सिकलसेलका ५८३ बिरामी सेती अञ्चल अस्पतालमा औषधोपचार गराइरहेका छन् । जसमध्ये बोहरा, साउँद थरका ८ जना गैरथारू र बाँकी सबै थारू रहेका छन् । सरकारले सिकलसेल एनिमिया रोकथामको विषय आफ्नो नीति तथा कार्यक्रममा पनि राखेको छ भने केही वर्षयता सिकलसेलका विरामीहरुलाई १ लाख रुपैयाँ बराबरको निशुल्क औषधोउपचारको व्यवस्था गर्दै आएको छ ।