काठमाडौं – भारतमा एक्जिट पोलको अनुमानपछि कांग्रेसले एनडीएलाई सत्तामा आउनबाट रोक्नका लागि तयारी बढाएको छ ।
कांग्रेसले परिणाम आउनुअघि नै गठबन्धनलाई थप बलियो बनाउन र राष्ट्रपति चुनाव गराउन समेत दाउ खेल्न थालेको छ । एनडीएले बहुमत नल्याएमा यस्तो रणनीतिले निकै फाइदा हुने कांग्रेसको मान्यता छ ।
गठबन्धन रणनीतिमा कांग्रेसको शीर्ष नेतृत्वले काम गरिरहेको छ । अहिले यस रणनीतिमा सम्भावित साझेदारहरूसँग चर्चा चलिरहेको छ । कुराकानीमा कांग्रेस अध्यक्ष राहुल गान्धी, नेता अहमद पटेल र जयराम रमेश संलग्न छन् ।
कर्नाटक चुनावपछि परिणाम आउनुअघि कांग्रेस र जेडीएसले गठबन्धन गरेर भाजापालाई सत्तामा आउन रोकेजस्तो केन्द्रमा पनि प्रयोग सफल हुने आशा कांग्रेसले राखेको छ । पार्टीले अभिषेक मनु सिंघवीलाई यस रणनीतिको कानूनी पक्षमा काम गर्ने जिम्मेवारी दिएको छ ।
सूत्रहरूका अनुसार, यस दिशामा पहिलो कदम भनेको अन्य दललाई एक ठाउँमा ल्याउनु र आगामी २४ घन्टाभित्र गठबन्धन घोषणा गर्नु हो । गैरभाजपा दलहरूलाई घेराबन्दी गरेर परिणामपछि भाजपालाई साझेदार खोज्न गाह्रो बनाउने कांग्रेसको रणनीति हो ।
एजेन्सी