१३ असार २०८३, शनिबार

उत्खननका क्रममा भेटियो राजाले लुकाएको सम्पत्ति, लुटेर भागे मानिस

उत्खननका क्रममा भेटियो राजाले लुकाएको सम्पत्ति, लुटेर भागे मानिस

काठमाडौं – भारतको राजस्थानस्थित जोधपुरमा एक मठमा निर्माण कार्य भइरहँदा भुइँमुनिबाट चाँदीको सिक्का निस्कन थाल्यो ।

मानिसहरूले मठबाट खजाना निस्केको थाहा पाएपछि त्यहाँ भेला भए र सिक्का लुटेर घर लगे । प्रहरी हेरेको हेर्‍यै भयो ।

जोधपुरभन्दा ४० किलोमिटर टाढा रहेको सालवा कलाँ गाउँको प्राचीन मठमा निर्माण कार्य चलिरहेको छ । उत्खननका क्रममा चाँदीका केही प्राचीन सिक्का फेला परेका थिए । 

सिक्का मुगलकालको भएको र तिनमा मुहम्मद शाह लेखिएको बताइएको छ । भारतीय पुरातत्त्व सर्वेक्षण विभाग जोधपुरका प्रहरी अधीक्षक भीएस बडिगरले यी सिक्काहरू सन् १७१९ देखि १७४८ सम्म प्रचलनमा रहेको बताए । 

सिक्काहरूमा फारसी भाषा प्रयोग भएको छ । सिक्काको एक पाटोमा बादशाह मोहम्मद शाह लेखिएको छ । प्रत्येक सिक्काको तौल ११.३७ ग्राम छ ।

दुई दिनअघि मठमा उत्खनन गर्दा अनेकौं हाँडीहरू भेटिएको र तिनमा प्राचीन सिक्का र आभूषण भरिएको गाउँलेहरूले बताए । तिनै हाँडी लिएर गाउँलेहरू भागेका हुन् । 

सिक्का भेटिएको सूचना पाइएपछि प्रहरी घटनास्थलमा पुग्यो तर मानिसहरूलाई सिक्का लुट्नबाट रोक्न सकेन । गाउँका बालबालिकादेखि वृद्धसम्मले सिक्का खोज्नका लागि उत्खनन गरे । 

पाँच सयभन्दा बढी सिक्का मानिसहरूले लुटेर लगेको बताइएको छ । प्रहरीले मानिसहरूलाई हटाउने प्रयास गरेको भए पनि गाउँलेले टेरेनन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्