
काठमाडौं – कर्नाटकको बैंगलोर सेन्ट्रल निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका अभिनेता प्रकाश राज हारको संघारमा पुगेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक राजले जम्मा १३ हजार भोट पाएका छन् । त्यस सीटमा कांग्रेसका रिजवान अर्शदले अग्रता लिएका छन् ।
अर्शदले अहिले दुई लाख ८६ हजारभन्दा बढी भोट ल्याएका छन् । भाजपाका बहालवाला सांसद पीसी मोहन दोस्रो स्थानमा छन् ।
अघिल्लो चुनावमा मोहनले अर्शदलाई १.३७ लाख भोटले हराएका थिए ।
प्रकाश राजले तमिल, तेलुगु, कन्नड र हिन्दी चलचित्रमा काम गरेका छन् । उनी भाजपा र कांग्रेस दुवै दल धर्मनिरपेक्ष नरहेको मान्यता राख्छन् ।
त्यसैले उनले आम आदमी पार्टीका लागि चुनाव प्रचार गरेका थिए । उनले कम्युनिस्ट पार्टीका कन्हैया कुमारका लागि पनि प्रचार गरेका थिए ।
राजले पत्रकार गौरी लंकेशको हत्यापछि आफ्नो जीवनमा मोड आएको बताए । लंकेश उनकी नजिकैकी मित्र थिइन् ।
‘म जहिले पनि प्रश्न सोध्ने गर्थें तर गौरीको मृत्युले मेरो दृष्टिकोण परिवर्तन गरिदियो । मानिसले कसैको मृत्युमा खुशियाली मनाएको देख्दा किन भनी प्रश्न गर्नुपर्छ । उनी एक्लै बोलिरहिन् अनि हामीले उनलाई साथ दिनुपर्थ्यो,’ उनले गत वर्ष एउटा अन्तर्वार्ताका क्रममा बताए ।
एजेन्सी