
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले २० वर्षपछि बिहीवार सुर्खेतका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने अभियुक्त साविकको साटाखानी गाविस–७ र हालको लेकबेँसी नगरपालिका–९ साँझेचौर सुर्खेतका हर्खबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
प्रवक्ता क्षेत्रीका अनुसार अभियुक्त दर्लामी विक्रम संवत् २०५६ कात्तिक ४ गते राति १२ बजे साँझेचौरस्थित जंगलमा पैसा माग्दा नदिएको रिसिइबीले उनकै गाउँ बस्ने चन्द्रबहादुर राई मगरलाई कुटपिट गरी सख्त घाइते (बेहोस) बनाउने घटनामा संलग्न भएका थिए ।
बेहोस बनाइएका राईमगरलाई प्रहरी र स्थानीयवासीको साहयतामा उपचारका लागि सुर्खेत लगिएको थियो । राईमगरको उपचारको क्रममा सुर्खेत अस्पतालमा मृत्यु भएपछि उनको कुटपिटको घटनामा संलग्न अभियुक्त दर्लामी त्यसपछि फरार थिए ।
मृतकका बुबा धनबहादुर राईमगरले घटनापश्चात् फरार दर्लामीको खोजतलासबाट पक्राउ गरी कानूनबमोजिम हदैसम्मको कारवाही गरी पाऊँ भन्ने व्यहोराको जाहेरी दरखास्त दिएका थिए । सोही निवेदनअनुसार फरार रहेका दर्लामीलाई खोजतलास गर्ने क्रममा जेठ ९ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी सोही स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतमा अनुसन्धान कार्यका लागि पेश गरिएको र अध्ययन अनुसन्धानको कारवाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।