
सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए ।
उनीहरूलाई आईतवार पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको हो । उनीहरूको साथबाट १ लाख ५० हजार नगद, अमेरिकी डलर ५० दरको १३ थान, अमेरिकी डलर २ कोे १ थान र अमेरिकन डलर एकको ४८५ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
यसैगरी विभिन्न कम्पनीका पाँच मोबाइलसमेत बरामद गरिएको उपरीक्षक थापाले बताए । उनीहरूले आफूसँग २५ हजार डलर छ, सस्तो दरमा नेपाली पैसासँग साटिदिन्छु भन्दै सल्यान बागचौर नगरपालिका–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने सन्तोष डाँगीलाई सिन्धुलीको खुर्कोटमा बोलाएको प्रहरीले जनाएको छ ।
‘डाँगीलाई सिन्धुलीको सुनकोशी गाउँपालिका–६ विपी राजमार्गमा बोलाई एक किलोमिटरमाथि गणेशस्थान नजिक बरबोटे भन्ने स्थानमा लगेर तिमीहरू डलर साट्न आएको होइन, के कति पैसा छ ? झिक नत्र मारेर फालिदिन्छौं भनी सन्तोष डाँगीसँग रहेको एक लाख ५० हजार र सल्यान बागचौर नगरपालिका–९ का नवीन केसीको साथमा रहेको १३ हजार मूल्य बराबरको मोबाइल लुटेको अनुसन्धानका क्रममा खुलेको छ,’ उनले भने ।