
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ सरकारका अर्थ समितिका संयोजक डाक्टर मिनेन्द्र रिजालले सरकार भवितव्यमा पर्ने डरले बजेटमा चारा छर्दै हिंडेको आरोप लगाएका छन् ।
शुक्रवार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा रिजालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी अध्यक्षले 'समान समयावधीका आधारमा सरकार फेरिने' अभिव्यक्ति दिएको भन्दै यसले सरकारलाई भवितव्यमा पारेको दाबी गरे ।
'सरकारसँग ४ सय ८ अर्ब पूँजीगत खर्च गर्ने ठोस आधार छैन,' रिजालले भने, 'सरकार विप्रेषणले सृजना गरेको अप्रत्यक्ष राजस्वको सिरानी हालेर सुतिरहेको छ । यो कमजोर सतहमा टेकेर निकै अग्लो उचाई उड्ने कल्पना मात्र हो ।'
विप्रेषणले नेपालको गरिबीको दर घट्न घट्न सहयोग गरिरहेको भन्दै डाक्टर रिजालले त्यही विप्रेषणले सृजना गरेको आयातित उपभोगमाथि ३७ प्रतिशत राजस्व लगाएर चालू खर्च गर्ने मनासय सरकारले राखेको आरोप लगाए ।
कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले बजेटमाथि कांग्रेसको दृष्टिकोण पेश गरेका थिए । यो सरकारले अघिल्लो बजेटमा रहेको अन्योलताको 'कपी पेस्ट' गरेको भन्दै शर्माले बजेटले लोकहित छाडेर लोकप्रियताको बाटोमा सरकारलाई हिंडाएको आरोप लगाए ।
'शान्ति स्थापना, संविधान निर्माण र तीन तहको स्थिर सरकार निर्माण भएको वर्तमान देशले यस्तै ‘कामचलाउ प्रकृतिको’ बजेट अपेक्षा गरेको थिएन,' शर्माले भने, 'नविन कार्यक्रम, दूरगामी लक्ष्य र जोखिम मोल्न सक्ने क्षमताको खोजी थियो, तर बजेट मार्फत सरकारले त्यो आँट र क्षमता प्रस्तुत गर्न सकेन ।'
कम्युनिस्ट पार्टीको गठबन्धनले निर्वाचनको मैदानमा नागरिक पंक्तिमा वितरण गरेको सपनाहरू यही बजेटको गतिमा कहिल्यै पूरा हुन नसक्ने भन्दै शर्माले ५ वर्षमा ती सपनाहरूको १० प्रतिशत पनि पूरा नहुने बताए ।
सांसदलाई ६/६ करोड बाँड्ने कुरा ठीक भएन
कार्यक्रममा डाक्टर रिजालले सांसदलाई ६/६ करोड बाँड्ने कार्यक्रमको विरोध गरेका छन् । आफूले अघिल्लो बजेटमा पनि सांसदलाई यसरी पैसा दिन नहुने कुरा राखेको तर सरकारले नसुनेको आरोप रिजालको छ । रिजाल नेपाली कांग्रेसका सांसदसमेत हुन् ।
'अघिल्लो बजेट आउँदा स्थानीय जनप्रतिनिधि निर्वाचित भएपनि कुनै आर्थिक कार्यविधि र त्यससम्बन्धी कानून बनेको थिएन,' रिजालले भने, 'यो पटक सांसदलाई पैसा बाँडेर निर्वाचन क्षेत्रको विकासमा लगाउँदा ठीकै होला भन्ने थियो । तर अहिले सबै बनिसकेको छ । सांसदलाई पैसा बाँडेर स्थानीय क्षेत्रको विकास हुन सक्दैन, बरू विकास निर्माणमा स्थानीय र प्रदेश सरकारकै सहभागीता चाहिन्छ । सरकारले सांसदलाई पैसा बाँडेर ठीक गरेन ।'
कांग्रेस सरकारले बाँडेको ६/६ करोड नलिने निर्णयमा पुग्ने सम्भावना रहेको रिजालले टिप्पणी गरे । 'अहिले तपाईहरूलाई यतिमात्र भन्छु, सांसदलाई पैसा बाँड्ने कुरामा हाम्रो आपत्ति छ । बाँकी कांग्रेसले यससम्बन्धमा के निर्णय गर्छ हेर्दै जानुहोला ।'