
बुटवल – रूपन्देहीको देवदह भगवान् गौतम बुद्धको मावली गाउँ साथै प्राचीनकालीय गणराज्य पनि ।
देवदहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र बुद्ध सामुदायिक वन देवदहको आयोजनामा वनमा कुहिएर खेर गइरहेका काठबाट बुद्धको मावलीलाई चिनाउन १७ कलाकारहरूले १९ वटा बुद्धसहित उनका परिवारका १७ तस्वीर काठमा उतारे ।
वनमा कुहिएका ‘काम नलाग्दा’ काठ सुन्दर बनाएर सजाउने सपना देखे देवदहको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले । रुपन्देहीको देवदह नगरपालिकाको बुद्ध सामुदायिक वन उपभोक्ता समूहले जुक्ति निकाल्यो – वन क्षेत्रमा बनाउन लागिएको गौतम बुद्ध राष्ट्रिय उद्यानमा ‘काम नलाग्ने’ काठहरूलाई प्राण दिने र संरक्षण गर्ने ।
त्यसैअनुसार देवदहको बुद्ध सामुदायिक वन देवदह नगरपालिका–५ र ६ मा ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला गर्यो । काठमा बुद्धका परिवार सदस्यहरूका आकृति तयार हुँदैछन् । सिद्धार्थ गौतमलाई आमा मायादेवीले लुम्बिनीमा जन्म दिँदै गर्दादेखि बुद्धत्व प्राप्त गर्नुअघि र पछिका अवस्था र कालखण्डहरू झल्काउने आकृति देशभरका प्रसिद्ध मूर्तिकारहरूले तयार गरे ।
कार्यशालामा १७ जना मूर्तिकारहरू ८ दिनसम्म लगाएर १७ वटा मूर्ति तयार गरे । हरिबहादुर थापा बयम्बुले सालको काठको जरालाई बुद्धको मावलीमा बौद्ध भिक्षु ध्यानमा बसेको आकृति दिए । बौद्ध भिक्षु बनाउन थालेका उनी १ हप्तादेखि यसमै लीन भएका छन् ।
बुटवलका कलाकार यमबहादुर थापाले मायादेवीको निधनपछि रानी प्रजापति गौतमीले सिद्धार्थलाई स्याहारसुसार गर्दै गरेको मूर्ति तयार गर्दैछन् । दिनेश्वर महतोले बुद्धको मूर्तिभन्दा विचार ठूलो भन्ने सन्देश दिनेखालको आकृति तयार गरेका छन् ।




प्राज्ञ सभा सदस्य रुपन्देहीका गोविन्द चौधरी कोलिय गणराज्यका राजा सुप्रबुद्धको मूर्ति बनाए । यसरी नै रौतहटका राजन काफ्ले, हेटौडाका लक्ष्मण भुजेल, इलामका राजु पिठाकोटे, काठमाडौंका प्रथमराज बज्राचार्य, रुपन्देहीका बुद्ध चौधरी, चितवनका भीमबहादुर श्रेष्ठ, गुल्मीका हरिराम अधिकारी, झापाका केडी याक्खा, काठमाडौंका अनमारी तामाङ, गुल्मीका कुमार थापा कार्यशालामा मूर्ति बनाएका हुन् ।
१७ जनाले बनाउने सबै मूर्ति बुद्ध र बुद्धका विभिन्न कालखण्ड, आसन, परिवारसँग सम्बन्धित रहेको ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य लालकाजी लामाले बताए ।


बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर रानाले ‘देवदहको प्रचारप्रसारलाई व्यापक बनाउने र पर्यटकीय थलोको रुपमा विकास र प्रवद्र्धन गर्ने उदेश्यले हामीहरुले गौतम बुद्ध राष्ट्रिय उद्यान नै बनाउँदै छौं, त्यसकै लागि यो अभियान थालिएको हो । कार्यशालाको प्रवद्र्धक ड्रीम देवदह युनिटी फर चेन्जका अध्यक्ष तथा स्मारिका प्रकाशन तथा मूल्यांकन समितिका संयोजक सिद्धिचरण भट्टराईले काष्ठकला कार्यशालाले देवदहलाई चिनाउनका लागि थप मद्दत पुर्याउने बताए ।

